विजयपुर । तिहारलाई फूलकै पर्वका रूपमा लिने गरिन्छ । विभिन्न जनावरदेखि भाइपूजाका लागि सयपत्री फूल आवश्यक पर्दछ । त्यही सयपत्री फूलमा नेपालको परनिर्भरता बढ्दै गएको छ । बढ्दो परनिर्भरतासँगै रैथाने सयपत्री फूल नफुल्दा तिहार पनि महँगिने भएको छ ।

१ नं. प्रदेशका पुर्वी पहाडी जिल्लाहरूमा रैथाने सयपत्री फूल उत्पादन हुन्छ । कृषकहरूले तिहारका लागि सयपत्री फूल लगाए पनि रैथाने सयपत्री फूल समयमै नफुल्दा आयातमा तेब्बर वृद्धि भएको छ । धरानका कृष्ण राईले धनकुटा, तेह्रथुम र सुनसरीमा सयपत्री फूल लगाएका छन् । उनी भन्छन्, ‘मौसमका कारणले तेह्रथुममा फूल फुलेन ।’ स्थानीयस्तरका रैथाने फूल नफुल्दा आयातमा वृद्धि भएको हो । उनी भन्छन्, ‘स्थानीयस्तरका रैथाने फूल १५ देखि २० प्रतिशत मात्र फुलेको छ ।’ उनी लामो समय वर्षातका कारण फूल नफुलेको बताउँदै भन्छन्, ‘रैथाने सयपत्री फूल फुल्ने निश्चित समयसीमा हुँदैन ।’

उनी नेपालमा सयपत्री फूलको व्यावसायिक खेती गर्न सकिन्छ भन्ने धारणाको विकास नै नभएको बताउँछन् । उनी करिब ५० हजार माला आपूर्ति गर्ने बताउँछन् । उपभोक्ताले स्थानीय उत्पादनलाई प्राथमिकता दिए मात्रै मूल्य वृद्धि हुने उनको बुझाइ छ । उनी भन्छन्, ‘मूल्य वृद्धि उपभोक्तामा भर पर्छ । स्थानीय फूल चलाए भने मूल्य वृद्धि हुन्छ ।’ अन्य पूजाका लागि भारतीय फूल प्रयोग गरे पनि भाइपूजाका लागि स्थानीय उत्पादन नै प्रयोग गर्ने प्रचलन रहेको छ ।

धनकुटाका कृषक तथा व्यवसायी प्रेम भट्टराई रैथाने सयपत्री फूल २० प्रतिशत मात्रै फुलेको बताउँछन् । उनी भन्छन्, ‘तिहार चाँडै आयो । फूल २० प्रतिशतमात्रै फुलेको छ ।’ उनी फूल नफुल्दा बोटमा नै फूल महँगो भएको बताउँछन् । उनी भन्छन्, ‘गतवर्ष २० देखि ५० रुपैयाँ मुठा थियो । अहिले ८० रुपैयाँ माथि पर्ने अवस्था छ ।’

विगतका वर्षहरूमा भारतीय फूल न्यून मात्रामा आयात भए पनि अहिले स्थानीयस्तरका रैथाने सयपत्री फूल नफुल्दा परनिर्भरता झन् बढेर गएको छ भने स्थानीय फूलको मूल्य वृद्धि हुन गई तिहार महँगिने भएको छ । कृषिउपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराई विगतका वर्षहरूमा २५ देखि ३० प्रतिशत भारतीय फूलको योगदान हुन्थ्यो भने यो वर्ष ७० प्रतिशत भारतीय फूलको योगदान हुने भयो । उनी भन्छन्, ‘विगतका वर्षभन्दा ठ्याक्कै उल्टो भयो ।’

धरानका व्यापारी टीकाराम श्रेष्ठ धरानमा पनि स्थानीय फूल नफुलेको बताउँछन् । ‘पानवारी, साउनेलगायतका प्रायः ठाउँमा फूल फुलेको छैन’ उनी भन्छन्, ‘म विभिन्न जिल्ला घुमेँ, विगतका वर्षहरूमा १५ गाडी फूल हुने ठाउँमा अहिले २० मुठा पनि छैन ।’ फूल समयमा नफुल्दा आयातमा वृद्धि भयो भने मूल्य पनि वृद्धि भएको छ । श्रेष्ठ भन्छन्, ‘पोहोर ३० देखि ४० रुपैयाँ मुठा किनेको फूल अहिले ६० रुपैयाँमा किन्नु परेको  छ ।’ उनी फूल प्रतिमुठा ८० रुपैयाँसम्म पुग्ने अनुमान रहेको बताउँछन् । व्यवस्थापक भट्टराईका अनुसार तिहार चाँडै भएकाले स्थानीय फूल पूर्णरूपमा नफुलेको हो । उनी भन्छन्, ‘स्थानीय फूल नफुल्दा  आयातमा वृद्धि  भयो ।’

उनका अनुसार कृषिउपज बजार धरानमा कोल्डस्टोरमा मात्रै तिहारका लागि १ लाख  २५ हजार माला भारत कोलकत्ताबाट आयात गरिएको छ । उनी थप ६० हजार माला आउने क्रममा रहेको बताउँछन् । गतवर्ष कृषिउपज बजार धरानदेखि ३ लाख २५ हजार माला बिक्री भएकोमा अहिले ३ लाख ५० हजारमा बिक्री हुने अनुमान रहेको छ । गतवर्ष १ करोड ६२ लाखको कारोबार भएको थियो भने यसवर्ष २ करोड ७५ लाख बराबरको कारोबार हुने अनुमान छ । 

राम जानकी कोल्डस्टोर विराटनगरका सञ्चालक पुरुषोत्तम धमला सयपत्री फूलको आयातमा वृद्धि भएको बताउँछन् । उनी स्थानीयभन्दा भारतीय फूल कोल्डस्टोरमा भण्डारणका लागि धेरै आएको बताउँछन् । श्रीशान्ति कोल्डस्टोर प्रालि दमकका सञ्चालक खेम काफ्लेका अनुसार गतवर्षभन्दा तेब्बरले भारतीय फूलको आयातमा वृद्धि भएको छ । उनी विगतमा कोल्डस्टोरमा १० हजार केजी भारतीय फूल भण्डारण भएकोमा यस वर्ष ३० हजार केजी फूल भण्डारण भएको बताउँछन् । ‘भारतीय फूलको आयात तेब्बरले वृद्धि भयो’ उनी भन्छन्, ‘विगतमा ५ हजार केजी स्थानीय फूल भण्डारणका लागि आउने गरेकोमा यो वर्ष शून्य रहेको छ ।’

स्थानीय सयपत्री फूल उत्पादन पर्याप्त नहूँदा भारतीय फूलले बजार लिने गरेको छ । नेपालमा स्थानीय सयपत्री फूलको व्यावसायिक उत्पादन कम हुनु, बेमौसमी झरीले बेर्ना बिगार्नुलगायतका कारणले पनि स्थानीय फूल कम उत्पादन हुने व्यवसायी श्रेष्ठको बुझाइ छ । भारतीय फूल आयात बढ्नुमा उपभोक्ता सौखिन हुँदै जानु, राज्यले फूलखेतीलाई प्राथमिकता नदिनुलगायतका कारण रहेको व्यवस्थापक भट्टराई बताउँछन् । उनी भन्छन्, ‘घर, गोदाम, पसल, गाडी, झ्याल, ढोका र अन्य पूजाका कार्यमा भारतीय फूलको प्रयोग हुने गरेको छ ।’