विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ नयाँबस्तीका ४५ वर्षीय तेतरलाल चौधरीलाई बारीमा तरकारी फलाएर नजिकैको बजारमा बिक्री गर्न पाए आम्दानी हुन्थ्यो भन्ने लागेको छ ।
सुनसरी–मोरङ सिंचाइ आयोजनादेखि एक सय मिटर दक्षिणमा नयाँबस्ती रहेको छ । त्यहाँ ३७ घरपरिवार छन् । उनीहरूले अर्काको घरमा बनीबुतो गरी परिवारको गुजारा चलाउँदै आएका छन् ।
बस्तीसम्म सिंचाइ पु¥याउन सक्ने उनीहरूसँग आर्थिक अवस्था छैन । त्यसैले उनीेहरू खेतबारीसम्म पानी ल्याइदिने र शुद्ध पिउने पानी उपलब्ध गराउनेलाई भोट दिने मनस्थितिमा छन् । ‘जुन नेताले पानी ल्याइदिन्छ, उसैलाई भोट दिने हो’–उनले भने ।
नयाँ बस्तीकी ४५ वर्षीया प्रमिला चौधरीले पनि विकास गर्नेलाई जिताउने बताइन् । उनले बस्तीसम्म विकासका पूर्वाधार ल्याइदिनेलाई भोट हाल्ने बताइन् । ‘पानी खान नदिनेलाई भोट नदिउँ जस्तो लाग्छ’ उनले भनिन्, ‘खानेपानी, सिंचाइ, सडकलगायतका धेरै समस्या छन्, चुनाव जित्नेले यी काम गरिदिए हुन्थ्यो ।’
सुनसरी–मोरङ सिंचाइ आयोजनाअन्तर्गत नहरको डिलमा बसेका ग्रामथानका ३६ परिवार सुकुम्बासीहरूको घर मोरङ क्षेत्र नम्बर ४ का माओवादीबाट निर्वाचित भएका निवर्तमान सांसद् अमनलाल मोदीको पहलमा बनेको थियो । जनता आवास र स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत त्यहाँका सुकुम्बासीहरूको चार कोठे पक्की घर बनेको हो ।
कृषिमा आबद्ध बेलबारी नगरपालिका–७ स्थित काफ्ले टोलका ५० वर्षीय कृष्णबहादुर ढकालले चुनावले केही आशा थपेको बताए । सांसद् मोदीको पहलमा बेलबारी–७ काफ्ले टोलमा बिजुली र ट्रान्समिटर आएको उनले सुनाए । काफ्ले टोलमा ६० भन्दा बढी घरपरिवार रहेका छन् । अब यहाँको सडक पिच गर्नेलाई भोट दिने उनले बताए ।
मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादीका मोदीले पुनः उम्मेदवारी दिएका छन् । एमालेबाट विनोद ढकाल छन् । मोरङ क्षेत्र नं. ४ मा प्रतिनिधिसभाका लागि उनीहरूबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।
यस्तो छ अङ्कगणित
मोरङ ४ मा ग्रामथान र कटहरी गाउँपालिकाको सबै वडासहित विराटनगरका १, २, ३, ८, १०, १९ तथा बेलबारीका ५, ६ र ७ वडा पर्दछन् । क्षेत्र नम्बर ४ मा एक लाख १० हजार ९३ जना मतदाता छन् ।
क्षेत्र नम्बर ४ मा रहेका स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतअनुसार एमाले अगाडि छ । एमालेले २५ हजार ७ सय ३० र काङ्ग्रेसले २१ हजार ८ सय ९४ मत पाएको थियो । माओवादीले ९ हजार ९ सय ९०, राप्रपाले ४ हजार ६ सय ७४, जसपाले ३ हजार १ सय १२ र एकीकृत समाजवादीले १ हजार २ सय ५५ मत ल्याएको थियो ।
‘मेरो काम नै जितको आधार’
अघिल्लो पटक काङ्ग्रेस नेता महेश आचार्यलाई पराजित गरेका माओवादी नेता अमनलाल मोदी एमालेका उम्मेदवार विनोद ढकाललाई पराजित गर्ने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् । आफूले ५ वर्षको अवधिमा गरेको काम नै जितको आधार भएको उनको दाबी छ ।
‘मैले ५ वर्षमा काम गर्दा जनताको जीवनलाई छोएको छु । समाजमा भिजेको छु । समाजमा रहेका विविधतासँग गाँसिएको छु । विकास, पूर्वाधार निर्माणको सवालमा मैले जसरी काम गरेको छु । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सम्बन्धमा पनि मैले काम गरेको छु । खेलकुददेखि महिलालाई स्वावलम्बी बनाउनेलगायतका जति पनि काम गरेको छु, जसको कारण जनताले मलाई चिन्छन् । यो म जन्मे, हुर्केको ठाउँ पनि हो । म यहीँ हुर्केको, पढेको क्षेत्र हो । यहीँको धुलो, माटोमा हुर्केको बासिन्दा भएकोले चुनाव जित्नेमा शतप्रतिशत विश्वस्त छु’–मोदीले भने ।
‘खासै चुनौती छैन’
एमाले केन्द्रीय सदस्य विनोद ढकाल यो पटक आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन् । हाल चुनावी प्रचार–प्रसारको कार्यक्रमका लागि विभिन्न तहका कमिटीसँग छलफलसँगै घरदैलो अभियानमा ढकाल जुटिरहेका छन् ।
यो पटकको निर्वाचनमा एमालेलाई खासै चुनौती नभएको उनको दाबी छ । एमालेको पार्टी सङ्गठन, स्थानीय तहको मत परिमाणको आधार र जनताको सुख–दुःखमा साथ दिएको कारणले पनि आफूले चुनाव जित्ने उनको भनाइ छ ।
‘एमालेले यो पटक चुनाव जित्नेछ । मुख्य कुरा के हो भने निर्वाचित भइसकेपछि जनताका समस्या हेर्ने, विकास गर्नुपर्ने हुन्छ’ उनले भने, ‘मोरङ क्षेत्र नं. ४ का जनता कृषिमा आधारित रहेका छन् । त्यसैले कृषकको जीवनस्तर उठाउनु पर्नेछ । स्वरोजगार बनाउनु पर्नेछ ।’ यो पटक एमालेले खासै चुनौती महसुस नगरेको र जित्ने आधार बलियो रहेको उनको दाबी छ ।