धरान । धरान उपमहानगरपालिकाको प्रमुखका रूपमा हर्कराज राई (हर्क साम्पाङ)ले कार्यभार सम्हालेको बिहीबार सय दिन पूरा भयो । कुनै पनि नेतृत्वको ‘हनीमुन पिरियड’ का रूपमा लिइने सय दिन पूरा भएको अवधिको आधारमा उसको सफलता वा असफलता आँकलन गर्ने गरिन्छ । नगरप्रमुख साम्पाङको सय दिन नियाल्ने हो भने उनले मूलबाटो छाडेर, गन्तव्य भुलेर अन्यत्र बरालिएको अर्थात् बाटो बिराएको प्रष्ट देखिन्छ ।

जेठ १० मा ‘स्थानीय सरकार’ को नेतृत्व सम्हालेका साम्पाङले सय दिन पुग्नुभन्दा १४ दिन पहिले नै सामाजिक सञ्जालमा ‘१०० दिनमा के गरिस् तैँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:’ भन्दै १३ बुँदा सार्वजनिक गरेका थिए । तर, तीमध्ये अधिकांश नगरको दिगो विकासमा योगदान गर्ने किसिमका योजना छैनन् । साम्पाङले आफूले नेपालमै श्रम संस्कृतिको क्रान्ति सुरु गरेको दाबी गर्ने गरेका छन् ।

तर, उनको यो दाबीको आधार विश्वासिलो छैन । वृक्षरोपण गर्न वा पानीको पाइप तान्न, ढुङ्गा बोक्न उनको आह्वानमा आम नागरिकले श्रमदान गरेका छन् । त्यसैका आधारमा नेपालमै आफूले श्रम संस्कृति सुरु गरेको भन्नु कति उचित हो ? धरानवासीमा अहिले होइन २ दशकअघि नै श्रम संस्कृति विकास भइसकेको थियो । त्यो पनि नीतिगत रूपमा । तत्कालीन प्रमुखहरू ध्यानबहादुर राई र मनोजकुमार मेन्याङ्वोले धरानका विकास गतिविधिमा जनसहभागिता जुटाउन नीतिगत निर्णय नै गरेका थिए । नगरवासीले सडक निर्माणका लागि आफ्नै जग्गा दिने, पैसा दिने र श्रमदानसमेत गर्ने गरेका थिए । साम्पाङको यस्तो तर्कले धरानका भूतपूर्व गोर्खा सैनिक परिवारले सडक निर्माण, सरसफाइदेखि हरेक विकास गतिविधिमा गरेको आर्थिक, भौतिक योगदानको अवमूल्यन भएको छ ।

नगर प्रमुख साम्पाङले धरानको खानेपानीका लागि ४ वटा मुहान थपेर समस्या समाधान गरेको दाबी गर्ने गरेका छन् । तर, अहिलेको वर्षायाममा समेत धरानका कतिपय ठाउँमा पानी आउँदैन । खानेपानी समस्यालाई प्रमुख मुद्दाका रूपमा उठाउँदै आएका साम्पाङले चुनावअघि सार्वजनिक गरेको २९ बुँदे प्रतिबद्धतापत्रमा पनि प्राथमिकताका साथ उठाएका थिए । त्यसको पहिलो बुँदामा खानेपानीको उत्पादन, सञ्चय र वितरणमा तत्काल सुधार ल्याउने, वैज्ञानिक बिल प्रणाली लागु गर्नेलगायत उल्लेख छ । यही प्रतिबद्धताअनुसार उनले स्रोतको खोजी गर्नु सकारात्मक थियो ।

त्यसैले पनि देशविदेशका समर्थकले उनलाई हौसला दिए, सहयोग गरे । त्यतिबेलासम्म उनको खुट्टा विकासको मूलबाटोमै अघि बढिरहेको थियो । तर, नसोचेको मत र जनसमर्थन पाएपछि पुलकित भएका उनले यस्ता काममा विज्ञहरूको सल्लाह लिन आवश्यक ठानेनन् । विज्ञहरूले पटक–पटक हेरेर दिगो नहुने निष्कर्षसहित छाडेको पकुवाको पानीमा आफै सर्वेसर्वा भएर पाइप राखेर पानी ताने । खोलाबाट विना ट्रिटमेन्ट(शद्धीकरण) सोझै ल्याइएको पानी खानेपानी व्यवस्थापन बोर्डले ट्रिटमेन्ट गरेर जम्मा गरेको ट्याङ्कीमा मिसाए । त्यसपछि उपभोक्ताहरूले धमिलो पानी आएको गुनासो गर्न थालेका हुन् ।

विज्ञको सल्लाह र अध्ययन विनै खान योग्य छ कि छैन समेत नजाँची पानी मिसाउनु कतिको वैज्ञानिक हो ? यसले समस्या समाधान गर्छ कि झन् समस्या निम्त्याउँछ ? वर्षायाममा सर्दु, खर्दु सबैतिर पानीको मूल फुट्छ । पकुवामा पनि फुट्यो । वर्षाको पानी ल्याएर मुहान थपेको दाबी गर्नु सही हो त ? प्रश्न उठेको छ । खानेपानीको वैज्ञानिक बिल प्रणाली अहिलेसम्म लागू भएको छैन । देशका धेरै ठाउँमा अनलाइनमार्फत् खानेपानीको बिल भुक्तानी गर्ने सुविधा छ तर, धरानमा लाइन बसेर झन्झटिलो हस्तलिखित प्रक्रियाबाट बिल काटिन्छ । के यही हो वैज्ञानिक बिल प्रणाली ?

खानेपानी बोर्डमा व्यापक भ्रष्टाचार भएको, नेताहरूले आफन्त, कार्यकर्ता भर्ती गरेको आवाज उठाउँदै आएका उनी आफै नगर प्रमुख तथा बोर्ड अध्यक्षमा विराजमान भइरहँदा ती मुद्दाबारे चुइँक्क बोल्न सकेका छैनन् । बोर्डमा कम्प्युटर सिष्टमबाट बिल प्रणाली लागू गरे धेरै अनावश्यक कर्मचारी कटौती गर्न सकिन्छ तर, त्यतातिर उनको ध्यान पुगेको छैन ।

प्रतिबद्धतापत्रको दोस्रो बुँदामा उनले जितेर गएको एकहप्ताभित्र सप्तकोसीबाट खानेपानी ल्याउने योजनाको ताकेता र प्रक्रिया सुरु गर्ने उल्लेख गरेका थिए तर, सय दिन बितिसक्दा पनि यो प्रक्रिया अघि बढ्न सकेको छैन । उनी आफ्नै योजना विपरीत सर्दु खोला वरिपरि अलमलिरहेका छन् । उनले सार्वजनिक कार्यक्रम र सामाजिक सञ्जालमा ‘पाँच हजार बिरुवा रोप्ने योजना थियो, ६ लाख बिरुवा रोपेँ’ भन्ने गरेका छन् । यसबाटै प्रष्ट हुन्छ साम्पाङ कति योजनाविहीन यात्रा गरिरहेका छन् भन्ने । कुनै नीति र योजना विनै व्यक्तिगत आह्वानमा मान्छे ओइरिएको भरमा जथाभाबी रोपिएका बिरुवा जोगाउने र हुर्काउने उनीसँग कुनै भिजन देखिँदैन । उनले अहिले वृक्षरोपण गरिरहेका धेरै ठाउँमा पहिला नै पटक–पटक विभिन्न संस्थाबाट वृक्षरोपण भइसकेका थिए तर, जोगाउने योजना नहुँदा हुर्किन सकेनन् । यसबाट उनले पाठ सिक्न सकेको देखिँदैन । बिरुवा रोप्नु ठूलो कुरा होइन, त्यसलाई संरक्षण गर्नु महत्वपूर्ण हो ।

साम्पाङले सरसफाइमा देखिने सुधार ल्याएको दाबी गरेका छन् तर, त्यो दाबी पनि आधारहीन छ । उनले काठमाडौंका मेयर बालेन्द्र साहलाई फोहोर व्यवस्थापन गर्न नसकेको भन्दै गाली गर्ने गरेका उनले धरानको फोहोर कहाँ फालिँदै छ भन्ने हेक्का राखेनन् । धरानको फोहोर कोसी राजमार्ग छेउको वन क्षेत्रमा र खोला किनारमा फालेर मानव स्वास्थ्य, जीवजन्तु र पर्यावरणमा पु¥याइरहेको क्षतिले उनको दाबी हावादारी प्रमाणित गर्छ ।

शान्ति सुरक्षामा सुधार ल्याएको दाबी गरिरहेका नगर प्रमुखले धरानमा हप्तैपिच्छेजसो झै–झगडा र काटाकाट भएको र मान्छेको ज्यान गइरहेको तथ्यलाई नजरअन्दाज गरेका छन् । वर्षायाममा बगेको सर्दुको पानीमा प्रोटोटाइप टर्वाइनमार्फत् ३ सय वाटको बत्ती बालेर हाइड्रोपावरको सफल परीक्षण गरिएको उनको दाबी छ । खानेपानीसमेत पर्याप्त नपाएको अवस्थामा हाइड्रोपावर बनाएको दाबी गर्नु धरानबासीको पानी समस्यामाथि व्यङ्ग्यबाहेक केही होइन । उनले शिक्षा, स्वास्थ्यमा सुधार ल्याएको दाबी गरे पनि खासमा यो क्षेत्रमा माखो मारेका छैनन् भन्दा फरक पर्दैन । संविधानले स्थानीय तहले आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने अधिकार दिए पनि अहिलेसम्म पाठ्यक्रम तयार भएको छैन ।

संविधानले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरे पनि सामुदायिक विद्यालयहरूमा विभिन्न बहानामा उठाइने शुल्कबारे उनले बोलेकासम्म छैनन् । न त सामुदायिक विद्यालय सुधारका लागि कुनै योजना नै अघि बढाएका छन् । विकासको जग मानिने शिक्षालाई बेवास्ता गरेर उल्टै श्रम नगर्ने विद्यार्थीलाई फेल गराउने धम्की दिन्छन् । निजी विद्यालयको मनलागी बारे सुरुमा चासो देखाएजस्तो गरेका उनी पछिल्लो समय पूरै चुपचाप छन् । चुनावअघि बीपी बचाउ आन्दोलनलाई साथ दिएर वाहवाही कमाएका उनी पछि ‘विदेशीले चलाएको आन्दोलन’ भन्दै उनीहरूकै विरुद्ध उत्रिए । शिक्षा र स्वास्थ्यमा सुधार ल्याएको उनको दाबी पनि सही होइन ।

उनी आफैले सय दिनको उपलब्धि भनेर सार्वजनिक गरेका बुँदामा सडक मर्मत सम्भार गरेको दाबी गरेपनि सडकभर भएका खाल्डाखुल्डी उनले देखेका छैनन् । जित्ने बित्तिकै उनले ‘चिल्लो गाडीमा चढेँ भने सडकका खाल्डाखुल्डी देख्दिनँ’ भनेर चर्चा कमाएका उनी अहिले गाडी चढेरै हिँड्छन् । त्यसैले पो हो कि खाल्डा नदेखिएको ? उनले लागूऔषधविरुद्धको अभियान सुरु गरेको दाबी गरे पनि धरानमा यो अभियान अहिले मात्र सुरु भएको होइन भन्ने सबैलाई थाहा छ ।

लागूऔषधको दुव्र्यसन न्यूनीकरणका लागि किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रलगायत धेरैले अभियान सञ्चालन गरेका थिए । उनले दुव्र्यसनविरुद्ध सचेत हुन आग्रह भने गरेका हुन्, प्लेकार्ड बोकेर सडकमा उभिएका हुन् । यो भने सकारात्मक अभियान नै हो । तर, आफैले सुरु गरेको दाबी गलत हो । उनले प्रतिबद्धतापत्रदेखि सामाजिक सञ्जालसम्म सूचनाको हकको चर्चा गर्ने गरेका छन् । तर, उनले नेतृत्व गरिरहेको नगरपालिकाको सूचना शाखामा हप्तौं धाउँदासमेत सूचना नपाउने भुक्तभोगी धेरै छन् । उनले आफै नेतृत्व गरेका शाखाहरूमा समेत सुधार ल्याउन नसकिरहेका बेला समग्र धरानको सुधार कसरी सम्भव होला ? उनले अहिले गरिरहेका अधिकांश काम राम्रै भावनाले गरिएका होलान्, त्यही भनेरै सबैले साथ सहयोग पनि दिएका हुन् तर, नगर प्रमुखले व्यक्तिगत सनकका भरमा कहिलेसम्म काम गर्ने ? अहिलेका अधिकांशजसो कामको कार्यपालिकाबाट नीतिगत रूपमा निर्णय भएकै छैनन् । यी कामको उपमहानगरपालिकाले कसरी अपनत्व लिन सक्छ ?, नगरवासीले कसरी अपनत्व लिन सक्छन् ?

सस्तो लोकप्रियतामा रमाउने र ‘भाइरल’ बन्ने ध्याउन्नमा मनखुसी योजना ल्याउने, कसैले आलोचना गरे जाइलाग्ने, सामाजिक सञ्जालमा अनावश्यक र हावादारी कुरा लेख्ने÷बोल्ने गर्न थालेपछि कार्यभार सम्हालेको सय दिन पुग्न नपाउँदै चर्को आलोचना खेपिरहेका छन् साम्पाङले । भाइरल हुने लोभमा ‘पपुलिजम्’ को बाटो हिँड्दा उनी गन्तव्यमा पुग्छन् कि अन्त कतै उनैलाई पनि थाहा छैन ।

पहिला धरानका खानेपानीलगायतका जल्दाबल्दा समस्या उठाएर सामाजिक अभियन्ताका रूपमा उदाएका साम्पाङलाई नगरवासीले उनले उठाउँदै आएका मुद्दाहरू कार्यान्वयन गर्ने ठाउँमा पु¥याइदिएका छन् तर, अहिले पनि उनी आफैले उठाएका मुद्दाहरूमा केन्द्रित भएर कार्यान्वयनमा लाग्नुको साटो अभियन्ताकै रूपमा प्रस्तुत भइरहनु धरानवासीका लागि दुःखद् हो । उनी कार्यान्वयन तहमा पुगेको सय दिन पूरा हुँदा पनि समस्याहरू ज्युँका त्युँ रहनु, आफैले उठाएका मुद्दाको दीर्घकालीन समाधानमा प्रगति नहुनु, अल्पकालीन समाधानमा केन्द्रित रहनु जस्ता कुराले उनले बाटो बिराएको बुझ्न सकिन्छ ।

पारदर्शितामा प्रश्न
साम्पाङले पहिलादेखि अहिलेसम्म, प्रतिबद्धतापत्रदेखि सामाजिक सञ्जालसम्म पारदर्शिताको कुरा उठाउँदै आएका छन् । तर, उनकै गतिविधि पारदर्शी छैनन् । चुनावअघि बाटै उनलाई देश र विदेशबाट आर्थिक सहयोग आएको छ । अहिले वृक्षरोपण र पानीका लागि भनेर पनि रकम आउने क्रम जारी छ । तर, अहिलेसम्म कहाँबाट कति पैसा आयो र केमा कति खर्च भयो ? कति बाँकी छ ? भन्ने कुरा उनले सार्वजनिक गरेको देखिँदैन ।

सय दिनको उपलब्धि भन्दै सार्वजनिक गरेका बुँदामा पारदर्शिता ल्याएको बताए पनि खानेपानी बोर्डको हिसाब सार्वजनिक गरेबाहेक अन्य सहयोगको हिसाब देखाएका छैनन् । त्यसैले पनि पछिल्लो समय उनको सामाजिक सञ्जालको स्टाटसमा हिसाब किताब माग्नेहरू बढिरहेका छन् । पारदर्शिताको अभियन्ताका हिसाबले उनले सार्वजनिक पद धारण गरेपछि आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गर्नुपर्ने हो तर, सहयोगका रूपमा देशविदेशबाट दुःख गरेर पठाएको पैसाको हिसाब सार्वजनिक नगर्नुले उनीमाथि प्रश्न गर्ने ठाउँहरू बनेका छन् । त्यसैले उनले यसको विवरण सार्वजनिक गर्नु आवश्यक छ ।

उनी सार्वजनिक पदमा रहेकाले आम नागरिकलाई उनीमाथि शङ्का गर्ने, प्रश्न गर्ने, आलोचना गर्ने अधिकार छ । तर, उनी आफ्नो आलोचना गर्नेलाई ‘ढुङ्गा बोकाउने’, ‘पक्राउ पुर्जी जारी गर्ने’ जस्ता धम्की दिँदै गाली गलौजमै उत्रिन्छन् । यो मुखाले प्रवृत्ति सुधार गर्नु नितान्त आवश्यक छ । अन्यथा आफ्नै बोलीका कारण पनि उनी असफल बन्ने निश्चित छ ।

सय दिनको उनको यात्रा हेर्दा यही यात्रामा निरन्तर अघि बढे उनी कुनैपनि दिन खाडलमा पर्न सक्छन् । बेलैमा सचेत भएर सही र गलत बाटो छुट्याउन सके उनी अझै पनि धेरै समय भएकाले गन्तव्यमा पुग्न सक्छन् । त्यसका लागि उनले सबै कुरामा सर्वज्ञ बन्न छाडेर सम्बन्धित क्षेत्रका विज्ञहरूसँग सरसल्लाह लिएर अघि बढ्नु नितान्त जरुरी छ । केही दिनअघि धरानका पूर्वप्रमुख मनोजकुमार मेन्याङ्वोले सामाजिक सञ्जालमा सुझाव दिएका थिए, ‘मेयर सा’वले सस्तो लोकप्रियता र प्रचारबाजीको यो शैली बदलेर ठोस र दीर्घकालीन नीति तथा कार्यक्रमका साथ समयमै अघि बढ्न जरुरी छ । अन्यथा वहाँ स्वयम् र धरानकै निम्ति प्रत्युत्पादक बन्ने कुरा लगभग पक्का देख्दैछु ।’

वास्तवमै साम्पाङ असफल हुनु समग्र धरान असफल हुनु हो । यहाँका मतदाताको विश्वास असफल हुनु हो । अनि देशभरकै स्वतन्त्रहरूको आवाज असफल हुनु हो । धरानको विकास अरू १० वर्षपछि धकेलिनु हो । अनि पहिला नगर बिगारेको आरोप खेपेका राजनीतिक दलका नेताहरू नै विकल्पहीन बनेर फेरि नेतृत्वमा पुग्ने अवस्था सिर्जना हो । त्यसकारण पनि नगर प्रमुख साम्पाङले धरानवासी र देशविदेशका नागरिकको सद्भाव, सहयोगलाई सदुपयोग गरेर धरानको विकासमा नीतिगत रूपमा लाग्नु आवश्यक छ । बाटो बिराएर गन्तव्यहीन बनेका उनलाई सही बाटो देखाउन आम नागरिकको भूमिका पनि महत्वपूर्ण हुन्छ ।