बिर्तामोड । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका– १ निवासी ८० वर्षीय देवीबहादुर अधिकारी रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार बिहान १० बजे मनकामना सामुदायिक वनभित्र घाँस दाउरा टिप्ने गएको बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिर्तामोडतर्फ लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बेलुका साढे ५ बजे बाटैमा मृत्यु भएको थियो । घटनाको सम्बन्धमा बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।