बिर्तामोड(ब्लाष्ट) नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले झापा क्षेत्र न १ बाट आगामी निर्वाचनमा बिजयी हुने धारणा राखेका छन् । वीरता मिडिया हाउसले सोमबार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा शर्माले आफ्नो पक्षमा निर्वाचनको माहाेल बनेको दावी गरे ।
शर्मा २०७० र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा झापा १ बाट पराजित भएका थिए । २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइरालासँग ६८९ मत अन्तरले पराजित भएका शर्मा २०७४ सालको निर्वाचनमा माओवादी नेता राम कार्कीसँग त्यो भन्दा ठुलो मत अन्तरले पराजित बने । कार्कीले शर्मालाई २ हजार ८६३ मत अन्तरले पराजित गरेका थिए ।
यतिबेला नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन बन्न लागेको छ । गठबन्धन दलको तर्फबाट झापा १ मा शर्माले उम्मेद्वारी दिने मनसाय राखेको बताए । शर्माले दुइपटकको ट्रायलमा सफल हुन नसकेको भन्दै तेस्रो पटकको ट्रायल अबश्य पास गर्ने दावी गरेका छन् । उनले तीन चोटी ट्रायल फेल हुने कुरामा आफ्नो चाहना नरहेको बताए । त्यसकारण राम्रो हिसाब किताब गरेर मात्रै निर्वाचनमा उठ्ने उनको भनाई थियो ।
‘काट्नेले तीन पटकमा अबश्य राँगो छिनाउँछ’ उनले भने,‘ तीन पटकमा आफू पनि कसो नजितिएला र ।’ पार्टीभित्र प्रवक्ता अनि त्यसपछि महामन्त्रीको जिम्मेवारी थप्दै गर्दा निर्वाचनमा भने पटक पटक हार्नु आफ्नो लागि राम्रो कुरा नभएको उनले बताए । निर्वाचनमा उम्मेदवार बन्ने विषय आन्तरिक छलफलमै रहेको बताउँदै उनले त्यसबारे गठबन्धनमा पनि कुरा भइरहेको जानकारी दिए । अघिल्लो निर्वाचनमा जुन पार्टी जहाँबाट जितेको थियो ,सोही ठाउँमा त्यही पार्टीका उम्मेदवारलाई यस पटक टिकट दिने गठबन्धन दलबीच मापदण्ड बनेकाले आफूले टिकट पाइहाल्ने निश्चित भईनसकेको बताउँदै उनले यदि निर्वाचनमा उठ्न पाए झापा क्षेत्र नं १ बाटै उम्मेदवारी दिने घोषणा गरे ।
वीरता मिडिया हाउसका अध्यक्ष वीरु दर्नालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाई, नेकपा एमालेका जिल्ला सदस्य देवराज कार्की, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य गोविन्दचन्द क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा पत्रकारहरु नकुलकाजी पाण्डे, राजबाबु शंकर र भारती राईलाई पुरस्कृत गरिएको थियो । अनलाइनका सम्पादक राजेन्द्र गौतमले स्वागत गरेको कार्यक्रमको संचालन संचारकर्मी लीला अनमोलले गरेकी थिइन् ।