विराटनगर। विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालले मोरङको रङ्गेली नगरपालिका– ५ आँपगाछीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

स्थानीय जनता माध्यमिक विद्यालयमा शुक्रबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ५० जना बिरामीको उपचार गरेको न्यूरो अस्पतालले जनाएको छ ।

शिविरमा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली पुगेर बिरामीको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा न्यूरो अस्पतालका वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ शैलजा क्षेत्री (श्रेष्ठ), न्यूरो सर्जन डा. आशिषजङ थापा, वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारी, वरिष्ठ बालरोग विशेषज्ञ डा. सुरेशप्रसाद साह, मुटुरोग विशेषज्ञ डा. राजन कर्ण, मेडिकल फिसर डा. मो. सिद्दिक, डा. प्रिन्स कुमार साह, डा. विकास यादवलगायतका चिकित्सकहरूले बिरामीको स्वास्थ्य उपचार गरेका थिए ।

स्वास्थ्य जाँच गरिएको बिरामीहरूको इसिजी, इकोकार्डियोग्राफी, अल्ट्रासाउण्डसमेत निःशुल्क गरिएको थियो । चिकित्सकले स्वास्थ्य जाँच गरेपछि बिरामीलाई आवश्यक पर्ने औषधि पनि अस्पतालले निःशुल्क वितरण गरेको अस्पतालले जनाएको छ ।

एउटै छानामुनि न्यूरो अस्पतालबाट गएका चिकित्सकले स्थानीयस्तरमा निःशुल्क स्वास्थ्य उपचार पाएपछि बिरामी हर्षित देखिन्थे । न्यूरो अस्पतालले अघिल्लो हप्ता पनि रङ्गेली नगरपालिकामा निःशुल्क स्वास्थ्य उपचार गरेको थियो ।

विपन्न र स्वास्थ्य उपचारबाट बञ्चित भएका बिरामीहरूलाई लक्षित गरी प्रदेश १ र मधेश प्रदेशका विभिन्न ग्रामीण बस्तीहरूमा पुगेर न्यूरो अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टिमले बिरामीलाई स्थानीयस्तरमा सेवा प्रवाह गर्दै आएको अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर अस्पतालले यस्ता सामाजिक कार्य र स्वास्थ्य सचेतना अभियानहरूलाई आगामी दिनमा निरन्तरता दिँदै अगाडि बढाउने उनले बताए ।