पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित नगर अस्पतालमा अब चौबीसै घण्टा उपचार सेवा सञ्चालन हुने भएको छ ।

संविधानसभा सदस्य चण्डीप्रसाद राईले आइतबार आकस्मिक र अन्तरङ्ग सेवाको उद्घाटन गर्दै नगरवासीका लागि स्वास्थ्यको पहुँच पु¥याउन नगरपालिकाले महŒवपूर्ण काम गर्दै आएको बताए । उनले वडा नम्बर २ मा नगर अस्पताल र बाँकी ९ वटा वडामा समेत स्वास्थ्य केन्द्र सञ्चालन गरेर प्रभावकारी काम गरेको बताए ।

नगर प्रमुख एवम् नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलिपकुमार राईले स्वास्थ्यको क्षेत्रमा नगरले ध्यान दिइरहेको जनाए । ‘सङ्घीय सरकारको बजेटबाट नयाँ भवन बनिसक्दा ५० शøयाको अस्पताल सञ्चालन व्यवस्थापनको तयारीमा छौं ।’ उनले नगरले २८ करोडको लागतमा पथरी बजारमा नगरको व्यावसायिक भवन बन्ने कामको ठेक्का प्रक्रिया अघि बढेको, विपद् व्यवस्थापन गण स्थापनाको पहल भएको र थप गतिविधिका बारेमा जानकारी गराए ।

उपप्रमुख एवम् समिति उपाध्यक्ष यमुना विष्ट बास्तोला, नगर प्रवक्ता एवम् समिति सदस्य यामप्रसाद गुरागाईं, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यसहितले स्थानीय जग्गादाताको सहयोगमा १ बिघा बढी जग्गा दान भएपछि अस्पताल सञ्चालनमा सहयोग मिलेको बताए । नगरवासीलाई स्वास्थ्यको पहुँच पु¥याउन नगरले सक्रियता अपनाएको जनाउँदै जग्गादाताको सम्मानमा अभिव्यक्ति दिए । 

१५ शय्याको अस्पताल सञ्चालनको सरकारी स्वीकृति प्राप्त भएपछि भौतिक व्यवस्थापनमा जुटेर नगरले चौबीसै घण्टा सेवा प्रदान गर्न सुरु गरेको हो । स्थानीय तहको निर्वाचनअगावै स्थानीय जग्गादाताले जग्गा प्रदान गरेपछि केन्द्र सरकारको बजेटमा स्वास्थ्य चौकी भवन बनेको थियो ।

१ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवन निर्माण भएको थियो । त्यो बेला स्थानीयको ठूलो उत्साहमा ११ जनाले ४ करोड बढी मूल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गरेका थिए ।  बाबुराम राई र सुनाहाङ सवेन्हाङले ३–३ कठ्ठा, श्रीनारायण ढकाल, टङ्कप्रसाद गिरी, जध्दु साह, केशवप्रसाद दाहालले १–१ कठ्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ, यक्षप्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०–१० धुर जग्गा दान गरेका थिए ।

त्यहाँ अन्यले पुनः जग्गा थप गरेकाले सोही स्थानमा शरणार्थी सम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगको सहयोगमा ८० लाखमा एउटा भवन निर्माण भएको थियो । हाल सङ्घीय सरकारले १८ करोड रुपैयाँ अस्पताल भवनका लागि छुट्याएपछि भवन निर्माणको काम धमाधम अघि बढेको छ ।

२ नम्बर वडामा नगर अस्पताल, ५ मा हसन्दह स्वास्थ्य चौकी, ९ मा शनिश्चरे स्वास्थ्य चौकी र बाँकी ७ वटा वडामा आधारभूत स्वास्थ्य केन्द्र, १६ वटा खोप क्लिनिक, १२ वटा गाउँघर क्लिनिक छन् ।  प्रत्येक वडामा ३ जनाका दरले ३० जना स्वास्थ्य स्वयम्सेविका कार्यरत छन् ।

नगरको ३ वटा एम्बुलेन्स र एउटा शव वाहन सेवा सञ्चालनमा छ । हाल अस्पतालमा फरिन्दा गुरुङ, कमलकान्त चौधरी र भेषराज पोखरेल गरी ३ जना एमबीबीएस डाक्टर रहेका छन् । सङ्घीय सरकारसँग एमडीको समेत माग गरिएको छ ।