विजयपुर । आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि निःशुल्क रूपमा दिइएको अमेरिकी साइन कम्पनीको रड (नेल) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्टोरमा दाखिल नगरेको खुलेको छ ।

प्रा.डा. पशुपति चौधरी हाडजोर्नी विभागका प्रमुख भएको बेला २ पटक आएको साइन रड एक पटकको मात्र स्टोरमा दाखिला भएको पाइएपछि अर्को पटकको सामग्रीका विषयमा विभागले खोजी गर्दा दाखिल नभएको खुलेको हो ।

चौधरी विभागीय प्रमुख भएका बेला डा. रोशन कलवारको नाममा २ पटक आएको रडमध्ये एक पटकको २० वटा नेल गायब भएको हालका विभागीय प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले प्रतिष्ठानका अस्पताल निर्देशकलाई हराएको नेल दाखिला गर्न पत्राचार गरेपश्चात् खुलेको हो । डा. कलवारले रड बिक्री गरेको विषय पुष्टि भइसकेको छ । डा. कलवारले प्याक स्लिप १०३८८, सिप डेट ११ अक्टोबर २०२१ मा दाखिला नगरेको पत्राचारमा देखिएको छ ।

प्रतिष्ठानको हाडजोर्नी विभागका प्रमुख डा. विक्रमप्रसाद श्रेठले अस्पताल निर्देशकलाई हराएको सामान फिर्ता गराउन अनुरोध गर्दै माघ २५ गते पत्राचार गरेका छन् । विगतमा सामान आफै राखेकाले डा. कलवारले पहिलेदेखि नै निःशुल्क रड बिक्री गर्दै आएको कुरा पुष्टि भएको छ । हाडजोर्नी विभागले निर्देशकलाई पत्र पठाउँदै हराएको सामान फिर्ता गराउन अनुरोध गरेको छ ।

पत्रमा ‘सन् २०२१ मा ‘साइन फ्याक्चर केयर इन्टरनेशनल अमेरिका’ लाई पत्राचार गर्दा सन् २०२१ मा प्रा.डा. पशुपति चौधरी हाडजोर्नी तथा साइन प्रोग्राम मेनेजर भएको बेला डा. रोशन कलवारको नाममा साइन संस्थाबाट विभागका लागि २ पटक सामान आएको’ उल्लेख छ । २ पटक आएको सामानहरूमध्ये १ पटकको सामान मात्र (प्याक स्लिप १०४२७, सिप डेट २२ नोभेम्बर २०२१) डा. रोशन कलवारले २०७८ पुस ३० गते स्टोरमा बुझाएको देखिन्छ । तर, त्योभन्दा अघि पठाएको सामान भने स्टोरमा दाखिला नगरेको पत्रमा उल्लेख छ ।

उक्त समयमा २० वटा रडसहित (नेल) तथा अन्य सामान समावेश रहेको (प्याक स्लिप १०३८८, सिप डेट ८ नोभेम्बर २०२१ मा आएको सामान भने कहीँ पनि दाखिला भएको देखिन्न’  पत्रमा भनिएको छ । यसबारे प्रतिष्ठानको मेडिकल स्टोरमा बुझ्दा हालसम्म (प्याक स्लिप १०४२७, सिप डेट २२ सेप्टेम्बर २०२१ मात्र प्राप्त भएको पत्रमा जनाइएको छ ।

डा. पशुपति चौधरी र डा. रोशन कलवारलाई सो सम्बन्धी जानकारी उपलब्ध गराउन मिति २०७८ (पत्र सं. अर्थो/१२१/०७८/०७९ माघ १२ गते पत्र पठाए पनि हालसम्म जवाफ नआएको जानकारीमा उल्लेख गरेको छ । यसरी विगतदेखि नै विभागीय प्रमुखहरूकै संलग्नतामा निःशुल्क आएको सामान बिक्री गर्ने गरेको पुष्टि गर्दछ । यदि प्रा.डा. पशुपति चौधरीको संलग्नता थिएन भने सामान दाखिला नहुँदा किन खोजी गरेनन् । उनी प्रोजेक्ट मेनेजरसमेत रहेको खुलेको छ ।

यसरी २० वटा नेलसहित अन्य सामग्री विभागमा नआउँदा खोजी नगर्नाले कतै प्रा.डा. चौधरीको पनि त संलग्नाता छैन ? आशङ्का उत्पन्न भएको छ  । तर, प्रा.डा. पशुपति चौधरीले भने आफू विभागीय प्रमुख भए पनि व्यक्तिको नाममा आएको रडको विषयमा जानकारी नहुने बताए । उनले सामान पठाउँदा कहिले कति पठायो भनेर जानकारी नभएको बताए ।

उनले साइन कम्पनीले नोभेम्बरमा पठाएको केही सामान काठमाडौं विमानस्थलमा नै रहेको बताएका छन् । उनले भने, ‘म अक्टोबरमा विभागीय प्रमुखको जिम्मेवारीबाट हटे, नोभेम्बरमा आएको सामान काठमाडौँ विमानस्थलमा रहेछ । विभागले खोज्नुप¥यो ।’ उनले पहिले अप्रेसन थिएटरमा भएको दाबी गरेका थिए भने पुनः काठमाडौँ विमानस्थलमा भएको बताए । उनले आफूलाई फसाउन नियतवश पत्र पठाएकाले जवाफ नदिएको बताए । उनले केही सामान हराएको हुनसक्ने बताए ।

यता विभागले भने अक्टोबरमा नै आएको सामान दालिखा नभएको उल्लेख गरेको छ ।  विभागले अस्पताल निर्देशकलाई सामानबारे जानकारी र यथासम्भव सामान नै प्राप्त गरी विभागमा फर्काउन अनुरोध गरेको छ । विभागीय प्रमुख  प्रा. डा. श्रेष्ठले डा. श्यामसुन्दर यादव, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बोधार्थ दिएर पत्राचार गरेका हुन् ।

विभागले साइन कम्पनीसँग गरेको इमेलका प्रतिलिपि, प्रतिष्ठानको स्टोरलाई पठाएको र स्टोरबाट प्राप्त जवाफको प्रतिलिपि, सन् २०२१ मा साइन कम्पनीले पठाएको सामानको विवरण र सामानको जानकारी दिन प्रा.डा. पशुपति चौधरी र डा. रोशन कलवारलाई प्रेषित पत्रसहित सामान फर्काउन माग गर्दै अनुरोध गरेको हो ।