धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको हैसियतमा काम गर्न सरकारले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्यामसुन्दर यादवलाई जिम्मेवारी दिएको छ ।

गत पुस १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रतिष्ठान नियमित सञ्चालन गर्नका लागि डा.यादव प्रतिष्ठान आए पनि प्रशासनिक र आर्थिक अधिकार नहुँदा उनी काम गर्न नसकेको भन्दै केही दिनअघि मन्त्रालय फर्किएका थिए । डा.यादव मन्त्रालय फर्किएपछि बुधबार बसेको मन्त्रीस्तरीय बैठकले उनलाई दैनिक आर्थिक, प्रशासनिक, शैक्षिक र अन्य तोकिएका काम, कर्तव्य र अधिकारसहितको जिम्मेवारी दिएको हो ।

बैठकले डा.यादवलाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम ६.४ बमोजिमको कार्य गर्न पाउने जनाएको छ । आर्थिक अधिकारको प्रयोगमा यादव र महालेखा नियन्त्रकको कार्यालयबाट खटिएका अधिकृत कर्मचारीको संयुक्त हस्ताक्षरबाट कार्य गराउन मन्त्रालयले निर्देशन दिएको छ । 

यसअघि प्रतिष्ठान सञ्चालन गर्न कानून बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि प्रतिष्ठान ऐन २०४९ को दफा २० (क) बमोजिम सह–कुलपतिमार्फत् प्रतिष्ठानको स्वास्थ्य र अध्ययन सेवा अवरुद्ध नहोस्भनेर डा.यादवलाई जिम्मेवारी दिएको थियो । कानूनी र व्यावहारिकरूपमा आर्थिक कारोबार गर्ने अधिकार नभएकाले उनी स्वास्थ्य मन्त्रालय फर्केका थिए । माघ १० गते प्रतिष्ठानमा डा.यादवसहित कोष तथा लेखा नियन्त्रक कार्यालय सुनसरीका प्रमुख चिरञ्जीवी अधिकारी आएका थिए ।

उपकुलपतिको हैसियतमा काम कारबाही गर्ने अधिकार पाएपछि उनले ब्लाष्टकर्मीलाई भने, ‘ममाथि त्यहाँका कर्मचारीले प्रश्न उठाएपछि म आफ्नो अधिकार खोज्नका लागि काठमाडौँ आएँ, यहाँ आएपछि उपकुलपतिको हैसियतमा अधिकार दिएको भनी मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।’

उनले आफू बीपी प्रतिष्ठानलाई ‘डेड लक’ गर्ने काम गर्नु हुँदैन भन्ने पक्षमा रहेकाले पनि काठमाडौँ आई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालयमा पुगेर आफ्नो अधिकार सुनिश्चित गराउन आग्रह गरेको बताए ।

‘मलाई त अल्पकालीन समयका लागि पठाइएको थियो, तर कर्मचारीहरूले तपाईंलाई आर्थिक अधिकार छैन भने’ उनले फोनसम्पर्कमा भने, ‘बीपीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन भनेर निकास दिनका लागि आएको हुँ ।’