धरान । सुनसरीको वराहक्षेत्रमा ‘बगैंचा नेपाल एग्रिकल्चर प्रालि’ नामक कृषिसम्बन्धी संस्था खोलेर कृषक र व्यापारी ठगी गरेको आरोपमा एक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कृषक तथा व्यापारीको करिब १० लाख रुपैयाँभन्दा बढी ठगी गरी फरार रहेका काठमाडौं बूढानिलकण्ठ–२ का ४३ वर्षीय दीपककुमार खड्कालाई पक्राउ गरिएको हो । उनले जिल्ला तथा जिल्लाबाहिरका कृषक तथा व्यापारीलाई ठगी गरेको उजुरी परेको थियो ।

जिप्रका सुनसरीका एसपी सञ्जयसिंह थापाले दशैंका लागि बिक्री गर्न ल्याएका २८ वटा खसीबोकासहित गरी ९ सय २९ जना व्यापारीबाट १० लाख ९८ हजार ९ सय ९७ बराबर ठगी गरेको आरोप लागेको थियो ।

पीडितको निवेदनका आधारमा उनलाई वराहक्षेत्रबाटै पक्राउ गरिएको एसपी थापाले जानकारी दिए । जिल्ला अदालत सुनसरीबाट ठगीसम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

प्रहरीका अनुसार वराहक्षेत्र–६ मा भाडामा बस्दै आएका तुलसी काफ्लेको ८ हजार, यज्ञ श्रेष्ठको २० हजार, सञ्जय दाहालको १० हजार, वराह फ्रुट प्रोडक्ट्सको ६३ हजार २५, सङ्गीता बेकरीको २५ हजारलागयतको चोरी गरिएको छ ।

त्यस्तै महेश हार्डवेयरको ५० हजार, ठाकुरबारी फर्निचरको २५ सय, दाहाल खाजा घरको १० हजार, मामा होटलको १० हजार, शुभलक्ष्मी सप्लायर्सको ८८ हजार, एचएस होम डेकोरको ६५ हजार, हितेश सु सेण्टरको १० हजार, ब्रदर्श कम्प्युटर सेण्टरको १५ हजार, फिफा पुस्तक पसलको ११ हजार ४ सय २७ र हीरा मोटर ग्यारेजको ७ हजार र खसीबोकाको ५ लाख २९ हजार ५ सय रुपैयाँ ठगी गरेको हो ।