इटहरीबाट प्रहरीले ४१ ग्राम ५९० मिलिग्राम खैरो हेरोईनसहित श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका १४ एकम्बाका २७ वर्षीय शिवे सरदार र उनकी श्रीमती २८ वर्षीय  सगुन माझी (सरदार) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

कार्यालयका अनुसार शुक्रबार इटहरी उपमहानगरपालिका १७ स्थित लबीपुर– तरहरा सडक खण्डमा लागु औषध खैरो हेरोइनको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा शिवेलाई २ सय मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको थियो । 

पक्राउ परेका शिवे माथि प्रारम्भिक अनुसन्धान गर्दा उनी र श्रीमती भएर विक्रीका लागि थप परिमाण कोठामा लुकाएर राखेको भन्ने खुलेपछि प्रहरीले उनीहरूको कोठामा छापा मार्ने क्रममा  राखेको प्लास्टिकको सेतो बट्टा भित्र खैरो हेरोईन ३९ ग्राम ३००मिलिग्राम, निलो धर्का भएको प्लास्टिकको पोकामा १ ग्राम, अर्को सेतो प्लास्टिकको पोकामा ६९० मिलिग्राम र ६ वटा सानो प्लास्टिकको पोकामा प्रति पोकामा १०० मिलिग्रामको दरले ६०० मिलिग्राम र   डिजिटल काटा १ थान र लागु औषध कारोबारबाट जम्मा भएको १५ हजार ७१० नगद समेत बरामद भएको कार्यालयले जनाएको छ । 

पक्राउ परेका दुबैलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।