विराटनगर । विराटनगर – ७ शनिमन्दिर चौक अगाडीको एक मोबाइल पसलमा चोरी भएको छ । शनिबार चाबि तोडेर राम कुमार राईले सञ्चालन गरेको कोमल मोबाइल टे«डसदेखि ५० भन्दा बढी मोबाइल चोरी भएको हो ।
पसलमा राखिएको ५० भन्दा बढी ब्रान्डेट मोबाइलहरू चोरी भएको उनले बताए । ‘पसलमा राखिएको १५ हजार भन्दा माथिका ५० हजारसम्म पर्ने मोबाइल चोरी भएको छ,’ सञ्चालक राईले भने, ‘शनिबार पसल बन्द गरेर घर गएको थिए । बिहान एक्कासी मोवाइल पसल चोरी भयो भनेर खबर पाएलगतै पसल आउँदा र्याकमा राखिएको मोबाइलहरू छैन ।’ सञ्चालक राईको अनुसार पसलमा राखिएको साढे ८ हजार रुपैयाँ चोरेले लगेको बताए ।
मोबाइल पसलसँगै नजिक रहेको किराना पसल चोरी गरेपछि कोमल मोबाइल टे«डसमा रहेको मोबाइलहरू चोरी गरेको देखिएको छ । शिवु सरकारले सञ्चालन गरेको किराना पसलदेखि १५ हजार रुपैयाँ र अन्य किरानाका सामानहरु पनि चोरी गरेको उनले बताए ।
यसअघि पनि विराटनगर–९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाइल पसलमा चोरी भएको थियो । सटरको ताला फुटाएर शुक्रबार राती पसलमा चोरी भएको प्रहरीले जनाएको छ । पसलबाट झण्डै १ लाख मुल्य बढीका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका थियो ।
ग्राहकले बनाउन दिएका मोबाईलहरु पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताएका छन् । हिमालय रोडमा अवस्थित उक्त पसलमा गतवर्ष असारमा पनि चोरी भएको थियो । पसलको देब्रेतिर रहेको सटर काटेर चोरहरुले झण्डै १७ लाख मुल्य बराबरको ५० वटाभन्दा बढी स्मार्टफोनहरु चोरी गरि लगेका थिए ।
प्रहरीले चोरीको मोबाईल खरिद गर्ने २ जनालाई पक्राउ गरि मात्र ३ वटा फोन बरामद गरेको थियो । तर, चोरीमा संलग्नहरु भने हालसम्म पनि पक्राउ परेका छैनन् ।
यसअघि पनि विराटनगर मेनरोडस्थित वडा प्रहरी कार्यालय छेउबाटै हातहतियारसहित आएका ३ जनाको समुहले कोटेक्स ट्रेडिङको एक गार्मेन्ट पसल लुटपाट गरेका थिए ।
पेस्तोलसहित आएका उनीहरुले १२ हजार नगद र ४ वटा मोबाइल लुटेर लगेका थिए । लुटपाटमा संलग्न सोही समुहले मोरङको धनपालथान–४ स्थित कर्सिया बजारको सिटिजन्स बैंक समेत लुटेका थिए ।
उक्त लुट प्रकरणमा संलग्न ९ जनामध्ये मुख्य योजनाकार सहित ४ जनालाई प्रहरी पक्राउ गरिसकेको छ । तर, बाँकी ५ जना अझैपनि फरार छन् । लुटको रकम भने हालसम्म बरामद गर्न सकिएको छैन् ।