धरान । झापाको कन्काइ नगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।

शनिबार अन्दाजी ७ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५२० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे ५ प ८४७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको हो । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका ३ का २७ वर्षीय निश्चल खनाल रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृतक खनालको टाउकोमा गम्भीर चोट लागेपश्चात् उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा लगिए पनि साढे ८ बजेतिर मृत्यु भएको हो । ट्रक चालक झापा बुध्दशान्ति गाउँपालिका ३ का लक्ष्मीप्रसाद शिवाकोटी र दुवै सवारी साधनलाई इलाका प्रहरी कार्यालय घैलाडुब्बाले नियन्त्रणमा लिएको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।