सुनसरी । दशैं सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी भारतीय बजारबाट तस्करहरूले पटका भित्र्याउने गरेको पाइएको छ । तर, नियन्त्रणमा भने प्रहरी सक्रिय रहेको छ । भारतीय बजारबाट लुकाएर जिल्लाका विभिन्न नाका हुँदै ठूलो मात्रामा तस्करहरूले पटकाजन्य पदार्थ भित्र्याउने गरेका छन् ।
खुला सीमा नाकाको फाइदा उठाउँदै तस्करहरूले सीमामा तैनाथ सुरक्षाकर्मीबाट लुकाईछिपाई ठूलो परिमाणमा पटका भित्र्याउने गरेका हुन् । भुटहा, घुस्की, कप्तानगञ्ज, अमडुवा, लौकही, साहेवगञ्ज, लाहीलगायतका नाकाबाट ठूलो परिमाणमा पटका भित्र्याउन तस्करहरू सक्रिय रहेकोे स्थानीय बताउँछन् ।
केही दिनअगाडि सुनसरी दुहबी नगरपालिका–१ परासटोकी एरियामा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा गढी गाउँपालिका–३ छिटाहाका ५५ वर्षीय इन्द्रनारायण साहलाई किङ कोब्रा लेखिएको १४ बण्डल पटकासहित पक्राउ गर्यो । सेतो प्लास्टिकको बोरामा प्याकिङ गरी भारतीय बजारबाट सीमामा तैनाथ प्रहरीको आँखा छल्दै साहले ल्याएको पटकासहित उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता २०७४ ‘विष्फोटक पदार्थसम्बन्धी कसुर’ मा मुद्दा चलाएको छ ।
यसैगरी इटहरी उपमहानगरपालिका–६ का २७ वर्षीय राजु साहले भारतबाट अवैध रूपमा विष्फोटक पदार्थ (पटका) ओसार–पसार गरी बिक्री वितरण गर्दै गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले असोज १५ गते इटहरीबाट उनलाई पक्राउ गरेको थियो । को. ३५ प ८७६८ नं. को मोटरसाइकलमा पछाडि २ वटा सेतो प्लाष्टिकको बोरा लोड गरेको र मोटरसाइकलनजिकै छेउमा पहेंलो प्लाष्टिकको बोरामा ४ बोरा र हरियो प्लाष्टिकको २ बोरामा प्याक गरी राखेको अवस्थामा प्रहरीले साहलाई पक्राउ गरेको थियो ।
उनको साथबाट बरामद गरिएका शिवाजी किङ कोब्रा लेखिएको ८ बोरा विष्फोटक पदार्थ पटकासहित साहमाथि सुनसरी जिल्ला अदालतबाट मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ‘विष्फोटक पदार्थसम्बन्धी कसुर’ मा मुद्दा चलाइएको सुनसरी प्रहरीले जनाएको छ ।
त्यस्तै सोही दिन भोक्राहा नरसिंह गाउँपालिका–५ टपरास्थित भित्री सडक खण्डमा नाम, थर र वतन नखुलेको एक व्यक्तिले साइकलमा ल्याउँदै गरेको ३३ बण्डल नागिन पटका बरामद गरिए पनि प्रहरीलाई देखेपछि तस्कर साइकल छाडेर भागेका थिए ।
लुकाईछिपाई भारतबाट भित्र्याइएको पटका जिल्लाका विभिन्न क्षेत्रबाट बरामद गरी नष्ट गर्दै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । प्रहरीले थोरै मात्रा पटका समाते पनि तस्करहरुले सीमा नाकामा तैनाथ रहेका प्रहरीलाई प्रभावमा पारेर भारतबाट ठूलो मात्रा पटका नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ । यद्यपि त्यस्तो आरोप निराधार भएको भन्दै उनले अति प्रज्वलनशील पदार्थको रूपमा रहेको पटका तस्करी नियन्त्रणमा नेपाल प्रहरी सक्रियतापूर्वक लागेको बताए ।
‘केही व्यक्तिले लुकाएर त्यस्तो पदार्थ ल्याए पनि त्यस्तालाई बरामद गर्दै नष्ट गरिरहेका छौं’–उनले भने । तिहारमा विशेषगरी पटकाको माग बढ्ने हुँदा जिल्लाका सीमावर्ती क्षेत्र हुँदै भारतीय बजारबाट लुकिछिपी पटकाजन्य पदार्थको तस्करी हुने गरेको जानकार बताउँछन् ।
भारतीय कारोबारीले भरियामार्फत् पटकाजन्य पदार्थ नेपाल पठाउने गरेका छन् । खासगरी तिहारका लागि भन्दै भारतीय बजारबाट बर्सेनि लाखौं मूल्य बराबरको पटका नेपाल भित्रिने गरेको छ । यसरी भित्र्याइने विभिन्न प्रकारका पटकाजन्य पदार्थ राजधानी काठमाडौंसहित विभिन्न ठाउँमा पठाउने गरिएको स्थानीय बताउँछन् ।