विराटनगर । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैङ्क र विराटनगरको मेनरोडस्थित गार्मेण्ट पसल लुटपाटमा एउटै समूह संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले झण्डै दुई साता लगाएर गरेको अनुसन्धानपछि २२ असोजमा विराटनगरको मेनरोडमा रहेको गार्मेण्ट पसल र २५ असोजमा कर्सियाको बैङ्क लुट्ने समूह एउटै रहेको पत्ता लागेको हो । विराटनगरको गार्मेण्ट पसल लुटपाटमा चार जना संलग्न रहेको देखिएको छ भने बैङ्क लुटपाटमा ९ जना संलग्न रहेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
लुटपाटका मुख्य योजनाकार विराटनगर–८ का ३२ वर्षीय श्याम मुखिया रहेको एसपी जिसीले बताए । उनका अनुसार भारतमा सङ्गठित अपराधको सञ्जाल चलाउने गिरोहको समूहलाई मुखियाको ‘मास्टर प्लान’ अनुसार नेपाल ल्याएर मोरङमा आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको खुलेको छ । एसपी जिसीका अनुसार विराटनगरको मेनरोडमा रहेको कोटेक्स ट्रेडिङ सप्लायर्समा हतियार देखाएर लुटपाट गर्ने चार जना रहेका थिए ।
उक्त सप्लायर्समा ४–५ लाख रुपैयाँ रहेको अनुमान गरेर मुखियासहित भारत अररिया सेखपुरा–५ का २८ वर्षीय सुनिल यादव, अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी र फारवेसगञ्ज–१० का २० वर्षीय रोशन यादव लुटपाट गर्न गएका थिए । मुखिया यसअघि उक्त सप्लायर्सका कामदार थिए ।
लुटपाट गर्ने बेलामा मुखिया बाहिर बसेका थिए भने पक्राउ परेका अन्य तीनजना तीनवटा पेस्तोल बाकेर लुटपाट गर्न पसलभित्र छिरेको प्रहरीले जनाएको छ । पसलमा १२ हजार रुपैयाँ मात्र रहेकाले उनीहरूले उक्त रकम र तीनवटा मोबाइल लुटेर लगेका थिए । लुटेको रकममध्ये मुखियाले ६ हजार अन्य तीनजनाले जनही २–२ हजार बाँडेको अनुसन्धानमा संलग्न प्रहरीले जानकारी दिएका छन् ।
गार्मेण्टपछि बैङ्क लुटने योजना
विराटनगरको व्यस्त बजार, त्यो पनि प्रहरीको २४ घण्टा सुरक्षा रहने ठाउँको कपडा पसल सहजरूपमा लुटेपछि उनीहरूले कर्सियाको सिटिजन्स बैङ्क लुट्ने योजना बनाए । ‘विराटनगरको व्यस्त मेनरोड बजारमा रहेको गार्मेण्ट पसल । त्यो पनि वडा प्रहरी कार्यालयअगाडिबाट दिनदहाडै पसल लुटपाट गर्ने योजना सफल भएपछि हौसिएर बैङ्क लुटने योजना बनाएको बयानको क्रममा लुटेराले बताएका छन्’ –घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।
व्यवसाय घाटामा जान थालेपछि विकल्पको खोजी गर्दै हिँडेका विराटनगरका श्याम मुखिया भारतको विहारस्थित आफ्नो मावली पुगेका थिए । बैङ्कबाट लिएको १० लाख ऋण र त्यसको ब्याजभारबाट छुटकारा पाउन उनले त्यहीँ बसेर लुटपाटको योजना बनाएका थिए । भारतमै पेसेवर अपराधीहरूको सङ्गत गरेर मुखियाले आवश्यक हातहतियारसहित लुटपाटको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । मुखियाले प्रहरीलाई दिएको बयान अनुसार लुटपाटको १५ दिनअगावै भारतीय अपराधीहरू नेपाल आएर लुटपाटको लागि उपयुक्त ठाउँ हेरेर फर्केका थिए ।
‘विराटनगर मेनरोडस्थित कोटेक्स ट्रेडिङको पसलबाट १२ हजार नगद र ४ वटा स्मार्टफोन लुटेर लगेपछि बैङ्क लुट्ने योजना बनाएका थियौं । पसलमा अनुमान गरे बमोजिमको पैसा नभेटेपछि बैङ्क लुट्ने योजना बनेको हो’–मुखियाले प्रहरी बयानमा भनेका छन् । गार्मेण्ट पसल लुटपाटको क्रममा गल्लामा थोरै नगद देखेपछि आक्रोसित बनेका हतियारधारीको समूहले पेस्तोलको पछाडिपट्टिको भागले पसलका सञ्चालक मनोज तोदीको टाउकोमा समेत प्रहार गरेका थिए । प्रहारबाट घाइते उनको विराट नर्सिङ होममा उपचार गरिएको थियो ।
बैङ्क लुटपाटअघि मुखियासहितको सो समूह मोरङ धनपालथानसँगै जोडिएको जहदा गाउँपालिकाको एक कृषि फर्ममा बस्दै आइरहेका थिए । मुखिया लागूऔषध कारोबारी पनि हुन् । प्रहरीले उनीहरू बस्ने डेराबाट लागूऔषध पनि बरामद गरेको छ । अररिया गोराहा–४ का ३० वर्षीय विजय सहनी एक वर्षदेखि फर्ममा कार्यरत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सहनी भने भारतबाट हत्या आरोपमा फरार भएका अभियुक्त पनि हुन् । उनीमाथि सामान्य झगडा हुँदा भारतमा आफ्नै छिमेकी शिवशङ्कर सहनीको गोली हानेर हत्या गरेको आरोप छ । कर्सियाको बैङ्कबाट लुटिएको २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ फेला परेको छ ।