धरान । धरानको भानुचौकबाट स्रोत नखुलेको सुन र १८ लाख रुपैयाँ नगदसहित दुईजनालाई इलाका प्रहरी कार्यालय धरानले बिहीबार दिउँसो पक्राउ गरेको छ ।
इप्रका धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार धरान र धनकुटाको महालक्ष्मी घर भएका दुईजना मानिसको साथबाट २५८ ग्राम सुन र १८ लाख रुपैयाँ नगद बरामद गरिएको हो । धरान–१५ का रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का चन्द्रप्रसाद श्रेष्ठको साथबाट सुन र नगद बरामद भएको डिएसपी कुँवरले जानकारी दिए ।
सुन र नगद कहाँबाट ल्याएको हो भन्ने हालसम्म नखुलेकाले अनुसन्धान भइरहेको उनले जानकारी दिए । ‘स्रोत नखुलेको सुन र नगद बरामद गरेका छौं, अनुसन्धान हुँदै छ’ डिएसपी कुँवरले भने, ‘कहाँबाट ल्याएको भन्ने खुलेको छैन ।’ उनीहरू सुन बिक्रीका लागि धरानको रत्नरोडमा पुगेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनीहरूको साथबाट हातमा लगाउने बाला बरामद भएको हो ।