धरान । बिमा रकम असूल गर्ने उद्देश्यले झुटो विवरण पेश गरी प्रहरी कार्यालयबाट कागजात लिन आएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले कागजात लिन आएका प्रदेश २ धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ का ३१ वर्षीय श्यामकुमार साहलाई पक्राउ गरेको हो । असोज १६ गते सवारी साधन खोलाले बगाई क्षति पु¥याएको भनी उक्त सवारीको बिमा बापतको रकम असूल गर्नका लागि प्रहरीमा प्रमाणीकरण रिपोर्ट लिन आएका थिए ।
प्रहरीले उक्त घटनाका विषयमा घटनास्थलको अवलोकन तथा अन्य अध्ययन गर्दा घटना असोज १६ गते नभई १४ गते भएको प्रमाणित भएपछि गलत नियतले कागजात लिन खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए । झुक्याई कागजात लिन खोजेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जनाइएको छ ।