विराटनगर/मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटीजन्स बैंकदेखि लाखौं रूपैयाँ लुटपाट गर्ने थप एक जना भारतीय नगारिक पक्राउ परेका छन् । 

मोरङ प्रहरीको विशेष प्रहरी टोलीले बैंक लुटपाटमा संलग्न थप एक जना भारती नागरिकलाई पेस्तोसहित पक्राउ गर्न सफल भएको हो ।

प्रहरीले भारत अररीया जिल्लाका २२ वर्षिय रोशन यादवलाई पक्राउ गरेको हो । प्रहरीले उनलाई भारतदेखि पक्राउ गरेर ल्याएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

पक्राउ परेका यादवले बैंकदेखि लुटपाट गरेको रकम लिएर फरार भएको र लुटपाटमा संलग्न मुख्य गिरोह रहेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारी बताउँछन् ।

‘पछिल्लो समय पक्राउ परेका अभियुक्तले बैंकदेखि लुटपाट गरेको रकम लिएर फरार भएका मुख्य अभियुक्त हुन् । उनैले बैंकदेखि लुटपाट गरेको रकम लिएर सीमावर्ती क्षेत्र हुदै भारतर्फ फरार भएका थिए । फरार भएका घटनाको मुख्य अभियुक्तलाई पक्राउ गर्न सफल भएका छौं,’ घटनको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने । पक्राउ परेको यादवको साथदेखि प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ ।

प्रहरीले लुटेरालाई पक्राउ  र पेस्तोल बरामद गरेपनि बैंकदेखि लुटेको पैसाँ भने बरामद गरेको छैन ।  ‘बैंकदेखि लुटिएको रकम खर्चिन त्यती सजिलो छैन । ढिलो चाडो लुटिएके रकम फेला पर्छ,’ एक अनुसन्धान अधिकृतले भने ।

दिनदहाडै बैंक लुटपाटको घटनाको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले संयुक्त रुपमा अनुसन्धान गर्दै आएको छ । 

बैंक लुटको घटनामा संलग्न तीन जना यसअघि नै पक्राउ परेका थिए । थप एक जना पक्राउ परेको र घटनाको बारेमा मंगलबार प्रेस विज्ञप्ति मार्फत् जानकारी दिइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीले बताए । गत सोमबार अपराह्न बैंक लुटेर भाग्ने क्रममा प्रहरीले एक नेपाली नागरिक र दुई भारतीयलाई पक्राउ गरेको थियो ।

प्रहरीले यसअघि भारतको अररीया जिल्लाको शिवपुरदेखि ३२ वर्षिय सुनिल यादव, भारत गौराहाका ३५ वर्षिय  बिजय बहरदार र विराटनगरका ३२ वर्षिय श्याम मुखियालाई पक्राउ गरेको थियो । उनीहरुको बयानको आधारमा प्रहरीले थप एक जना पक्राउ गर्न सफल भएको हो । उक्त समूहले २२ असोजमा  विराटनगरको वडा प्रहरी कार्यालय ‘क’ मेनरोडस्थित कपडा पसलमा भएको लुटपाटको घटनामा पनि संलग्न भएको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ ।

‘विराटनगरको गार्मेन्टमा भएको लुटपाटको घटना पनि बैंक लुटपाटन गर्ने गिरोहले स्वीकार गरिसकेका छन्,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, ‘अहिले प्राविधिक पक्षबाट पनि अनुसन्धान गर्ने काम भइरहेको छ । त्यसपछि घटनाको बारेमा बिस्कृत जानकारी दिने तयारी गरिएको छ ।’

कर्सियाको बैंकबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम हतितयारसहित आएका आठ जनाको लुटेरा समूहले नै लुटेर लगेको निष्कर्षमा प्रहरी प्रशासनले गरेको छ । लुटिएको रकम बरामद गर्न प्रयास गरिरहेको प्रहरीले जनाएको छ । पक्राउ र फरारमध्ये केही अभियुक्तहरु भारतमा पनि ‘वान्टेड’ सूचीमा रहेकाले भारतको अररिया प्रहरीलेसमेत उनीहरुलाई खोजिरहेको छ ।

बैंक लुटपाटमा ८ जनाको संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरीका अधिकारीहरु बताउँछन् । घटनाको मुख्य अभियुक्तहरु पक्राउ परीसकेको हुनाले थप चार जनालाई पक्राउ गर्न प्रहरी लागि परेको छ । प्रहरीका अनुसार सीसीटीभी फुटेजमा पाँच लुटेरा बैंकभित्र र अरु दुई बाहिर बसेको खुलासा भएको थियो ।