इनरुवा । इनरुवामा लागूऔषध कारोबारीले नयाँ तरिका अपनाएको फेला परेको छ । सखुवागाछी चोकबाट बरामद लागूऔषधले सो तरिकाको खुलासा गरेको हो ।
बन्द जर्किनभित्र लुकाएर बजारतर्फ ल्याउँदै गरेको लागूऔषध प्रहरीले बरामद गरेसँगै कारोबारीको नयाँ तरिका बाहिरिएको हो । प्रहरीले इनरुवा–३ सखुवागाछी चोकबाट ९७ बोतल डाइलेक्स डिसी नामक लागूऔषध बरामद गरेको छ । शङ्काको आधारमा चेकजाँचको क्रममा सखुवागाछी प्रहरीको टोलीले जर्किनभित्र लुकाइएको लागूऔषध फेला पारेको हो ।
प्रहरीले को.२६ प ५८६९ नम्बरको अपाचे मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीका अनुसार मोटरसाइकल छेक्ने क्रममा सवारी हुत्याएर चालक र पछाडि सवार व्यक्ति भने भागेका छन् ।
फरार रहेका व्यक्तिको खोजी थालिएको कार्कीले बताए । कार्कीले बरामद परिमाण हेर्दा फरार व्यक्तिहरू लागूऔषध कारोबारी हुनसक्ने बताए । उनले बरामद भएको मोटरसाइकल र हुलियाका आधारमा उनीहरूको खोजी थालिएको बताए । कार्कीले प्रहरीलाई छल्न जर्किनभित्र लागूऔषध राखिएको हुनसक्ने बताए ।
सखुवागाछी प्रहरीका अनुसार चोकतर्फ आउँदै गरेको मोटरसाइकलमा पछाडि बस्ने व्यक्तिले दुईवटा जर्किन बोकेका थिए । शङ्का लागेर चेकजाँचको लागि रोक्ने क्रममा मोटरसाइकल र जर्किन छाडेर दुवैजना भागेका थिए । जर्किनभित्र लागूऔषध राखेर मुख प्लाष्टिकले बाँधिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।