इनरुवा । हिरासतमा थुनुवाको मृत्यु पश्चात चर्केको माहोललाई वार्ताका माध्यमबाट टुङ्ग्याउने उदेश्यले प्रशासनमा सर्वपक्षीय बैठक डाकिएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा डाकिएको बैठकमा सुरक्षा निकायका प्रमुखसहित राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा जारी बैठकले शवको अन्त्यष्टीको विषयसँगै घटनाको छानविन र क्षतिपूर्तिलगायतको विषय टुङ्ग्याउने बताइएको छ ।
जारी बैठकका सहभागिले सम्भावित दुर्घटना रोक्न दलीय सहमतिको खाँचो औल्याएका छन् । घटनालाई अतिरञ्जित गर्ने प्रयास भैरहेको तर्फ संकेत गर्दै सहभागिले सद्भाव कायम राख्न सर्वपक्षीय छलफलको आवश्यक्ता औल्याएका छन् ।
घटनालाई राजनितिकरण हुन नदिने विषयमा बैठकका सहभागि एकमत देखिएका छन् । बैठकले प्रहरी हिरासत भित्र युवकको मृत्यु घटनासँगै बबियामा रहेको युवतीको घरमा भएको आगजनीको विषय उपरसमेत छानविन हुनुपर्ने माग गरेको छ ।
उता प्रजिअ यादवले सर्वदलीय बैठकको निष्कर्श अनुसार अघि बढ्ने बताएका छन् । उनले घटनाक्रम बुझेर अघि बढ्ने प्रतिकृया दिए । यादवले गठित छानविन समितिको प्रतिवेदनका आधारमा थप निर्णयमा पुग्ने बताए । प्रजिअ यादव सुनसरी प्रजिअका रुपमा कार्यभार सम्हाले लगत्तै प्रशासनमा डाकिएको सर्वपक्षीय बैठकमा सहभागि बनेका हुन् ।
यता हिजो असामान्य बनेको इनरुवा बजार आजभने सामान्य बनेको छ । यद्यपि,बजार क्षेत्रमा आजसमेत सुरक्षाकर्मीको उपस्थिति भने बाक्लो रहेको छ ।
मृतकको शव पोष्टमाटमका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानामा राखिएको र अन्त्यष्टीका लागि घर ल्याउने क्रममा नगर परिक्रमा गराउने तयारी बुझिएकाले अप्रिय घटना नहोस् भन्ने उद्देश्यले बजार क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।