भद्रपुर। सशस्त्र प्रहरीले भद्रपुर र मेचीनगरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरले सोमबार बेलुका भद्रपुर नगरपालिका– ३ बाट बिर्तामोड नगरपालिका– १० सैनिकमोड निवासी ४४ वर्षीय मिलन गुरुङ्लाई लागूऔषध र विदेशी रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ लुकिछीपी आउने क्रममा सशस्त्र प्रहरीले सीमामा रोकेर चेकजाँच गर्दा गुरुङको साथबाट Eskuf Cough Syrup- ४२ बोतल, Nitrazepam Tab १०० गोटा) र बिभिन्न १० मुलुक विदेशी रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाले मेचिनगर नगरपालिका– ७ स्थित मेची पुल मुनिबाट पाँचथर जिल्ला मिक्लाजुङ्ग गाउँपालिका घर भई हाल झापाको कमल गाउँपालिका– ६ निवासी १९ वर्षीय दिवाना राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ लुकिछीपी आउँदै गरेको अवस्थामा प्रहरीलाइ शङ्कालागी चेकजाँच गर्दा ३ ग्राम ब्राउनसुगर बरामद गरिएको डिएसपी भण्डारीले जानकारी दिए । यता पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइकसेको जनाइएको छ ।