सुनसरी । ब्राउनसुगर मुद्दामा सुनसरी जिल्ला अदालतको निर्णय उच्च अदालत विराटनगरले सदर गरिदिएपछि पुर्पक्षका लागि कारागारमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई छुटाउन पुनः चलखेल भइरहेको खुलेको छ ।
भारतीय नागरिक राजकुमार सिंहलाई धरौटीमा छुटाउन बिचौलियाले गरेको प्रयास विफल भएपछि सिंह पुर्पक्षका लागि अहिले थुनामा छन् ।
आर्थिक प्रलोभनसँगै राजनीतिक दबाव दिएकै कारण सिंह अभियुक्त रहेको कीर्ते नागरिकता छानबिन अगाडि बढाइएको छैन । उनलाई छुटाउन ठूलो आर्थिक चलखेलका साथै राजनीतिक दबावसमेत उत्तिकै रहेको स्रोतको भनाइ छ । धरानबाट ७७ ग्राम ब्राउनसुगरसहित मङ्सिर १९ गते पक्राउ परेका सिंहलाई जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटाउन सरकारी निकायले नै चलखेल गरेको समाचार बाहिरिएको थियो ।
उनलाई जिल्ला अदालत सुनसरीबाट ठूलो आर्थिक चलखेल गरेर छुटाउन सरकारी वकिलसहित केही निजी कानून व्यवसायीको अथक प्रयासका बावजुद जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउने निर्णय गरेको स्रोतको दाबी छ । जिल्ला सरकारी वकिल कार्यालय सुनसरी इनरुवाले अभियुक्त सिंहलाई छुटाउन प्रहरीमाथि दबाव दिनेदेखि निर्दोष फसाउनेसम्मको षड्यन्त्र गरे पनि ब्लाष्ट टाइम्समा प्रमाणसहितको समाचार प्रकाशित भएपछि उनीहरूको केही नचलेको विशेष स्रोत बताउँछ ।
लागूऔषध मुद्दामा कारागारमा रहेका राजकुमार सिंहले सप्तरीबाट कीर्ते गरी नेपाली नागरिकतासमेत लिएका छन् । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट झुठा प्रमाण पेश गर्दै नेपाली नागरिकता लिएका सिंह भारतीय भएको भारतीय प्रहरीले नै पुष्टि गरिसकेको छ ।
लागूऔषध मुद्दामा पक्राउ परेका सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा भएको समाचार प्रकाशित भएपछि उनको बारेमा जिल्ला प्रहरी कार्यालय सप्तरीले छानबिन गर्दै जाँदा भारतीय प्रहरी र भीमनगरका स्थानीयवासीले राजकुमार सिंह भारतीय हुनुका साथै उनको पुख्र्यौली सम्पत्तिसमेत भारतको भीमनगरमा रहेको प्रमाण फेला परेको थियो ।
भारतको भीमनगर ओपीमा कार्यरत सव–इन्स्पेक्टर शत्रुघनप्रसाद साहले सप्तरी प्रहरीको छानबिनका क्रममा राजकुमार सिंह भीमनगरका स्थायी बासिन्दा भएको कुरा पुष्टि भएको बताएका थिए ।
लागूऔषध मुद्दामा जेलमा रहेका भारतीय नागरिक राजकुमार सिंहलाई कीर्ते नागरिकता मुद्दामा कारबाही अगाडि बढाउने भन्दै सप्तरी प्रहरीको पत्राचारअनुसार सुनसरी जिल्ला अदालतले झुम्का कारागारलाई पत्राचार गर्दै अभियुक्त सिंहलाई बयानका लागि सप्तरी पठाउन भनिए पनि राजनीतिक दबावका कारण उनको बयान अझै भएको छैन ।
ब्लाष्ट टाइम्सलाई प्राप्त पत्रानुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको चलानी नम्बर १०११० मिति २०७८ असार १३ गते थुनामा रहेका सिंहलाई नागरिकतासम्बन्धी कसुरमा बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयले सप्तरी पठाई पुनः झुम्का कारागार फिर्ता ल्याउन सुनसरी जिल्ला अदालतले झुम्का कारागार कार्यालयको नाममा पत्र काटेको देखिन्छ ।
यद्यपि सुनसरीका केही जनप्रतिनिधिमार्फत् उच्च राजनीतिक दबावका कारण सप्तरी प्रहरीले मुद्दा अगाडि बढाउन नसकेको स्रोतको दाबी छ । असार १३ गते नै सुनसरी जिल्ला अदालतले नागरिकतासम्बन्धी कसुर मुद्दामा बयानका लागि पठाउन भनिए पनि अभियुक्त भनिएका सिंहको बयान नहुनुले स्रोतको दाबीमा बल पुगेको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीबाट साविक पकरी गाविस –२ हाल महादेवा गाउँपालिका–१ जन्मस्थान भएको भनी स्वर्गीय ठाकुरप्रसाद सिंहलाई नक्कली बाबु बनाई भारतीय नागरिक राजकुमार सिंहले नेपाली नागरिकता लिएकोमा उक्त स्थानका स्थानीयवासीले भने सिंह थर गरेका व्यक्तिको सो क्षेत्रमा बसोबासै नरहेको बताउने गरेका छन् ।
सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका बाबुको वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो । उनको भारतीय आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ ।
सिंह भारत बिहार राज्य भीमनगर ग्रामपञ्चायत वार्ड नम्बर १० का स्थायी बासिन्दा हुन् भने उनका बाबुको वास्तविक नाम रामबालक सिंह हो । रामबालक सिंहको मृत्यु भइसकेको छ । कीर्ते गरी जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नेपाली नागरिकता लिएका राजकुमार सिंहको नागरिकता नम्बर ०७३९३११३ रहेको छ भने जारी मिति २०४६ वैशाख १० गते हो । उनको भारतीय आधार कार्ड नम्बर ३२०८२९७२१८५६ रहेकोे छ भने बिहार राज्यको पञ्चायत आम निर्वाचन नामावलीमा नाम रहेको प्रमाणसमेत फेला परेको छ ।
झुम्का कारागारमा रहेका सिंहको लागूऔषध मुद्दामा उच्च अदालत विराटनगरले पनि सुनसरी जिल्ला अदालतको निर्णयलाई सदर गरिदिएपछि उनी दोहोरो मुद्दा चल्ने भएपछि छुटाउन गाह्रो हुने भन्दै दोहोरो नागरिकताको मुद्दा तत्काल नचलाउन सप्तरी प्रहरीमाथि दबाव दिएको स्रोत बताउँछ । दोहोरो नागरिकता लिएका भारतीय नागरिक सिंह कोसी गाउँपालिका–८ भण्टाबारी निवासी नेपाली काङ्ग्रेसकी स्थानीय नेतृ तारा पौडेलका ज्वाइँ हुन् । सिंहले आफू सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस–२ निवासी भएको दाबी गरे पनि उनको नागरिकता नै कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान गर्दा सिंह भारतीय नागरिक भएको र उनीसँग दोहोरो नागरिकता भएको प्रमाण फेला पारेको थियो ।
दोहोरो नागरिकता लिएका भारतीय नागरिक सिंह कोसी गाउँपालिका–८ भण्टाबारी निवासी नेपाली काङ्ग्रेसकी स्थानीय नेतृ तारा पौडेलका ज्वाइँ हुन् । सिंहले आफू सप्तरी जिल्लाको तत्कालीन पकरी गाविस–२ निवासी भएको दाबी गरे पनि उनको नागरिकता नै कीर्ते रहेको रहस्य बाहिर आएपछि सप्तरी प्रहरीले अनुसन्धान गर्दा सिंह भारतीय नागरिक भएको र उनीसँग दोहोरो नागरिकता भएको प्रमाण फेला पारेको थियो ।
सप्तरीको पकरी गाविसबाट नागरिकता बनाउँदा राजकुमारका बाबु भनिएका ठाकुरप्रसाद सिंहलाई समेत भारत बिहार राजजिरोगा ग्रामपञ्चायत अन्तर्गत भरफोडी ग्राम र थाना आन्द्रामण्ड र जिल्ला मधुवनी निवासी भएको प्रमाण सप्तरी प्रहरीले जुटाएको छ । ग्राम पञ्चायत राज जिरोगाकी मुखिया नूतन कुमारीले नेपाली नागरिकतामा राजकुमारका बाबु बनेका ठाकुरप्रसाद भारतीय भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेकी छन् ।
ग्राम पञ्चायत राज जिरोगाका मुखिया नूतन कुमारीले राजकुमारका नेपाली बाबु पनि भारतीय भएको भन्दै सप्तरी प्रहरीलाई पत्र लेखेकी छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले सइ जयप्रकाश साहको नेतृत्वमा राजकुमार सिंहबारे छानबिन गर्दै आवश्यक प्रमाण जुटाउन प्रहरी टोलीलाई वीरपुर पठाएको थियो ।
अनुसन्धानका क्रममा सप्तरी प्रहरीले राजकुमार सिंह स्वर्गीय रामबालक सिंहका चारमध्ये कान्छो छोरा भएको र उनी भारतीय भएको प्रमाण फेला पारेको थियो । यता यसबारेमा प्रतिक्रिया लिन खोज्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव काफ्लेले राजकुमार सिंहको विषयमा मुद्दा फाँटसँग बुझ्नुपर्ने भन्दै पन्छिन खोजे ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरी मुद्दा फाँटका सइ सुनिल यादवले राजकुमार सिंहको कीर्ते नागरिकताका सम्बन्धमा मुद्दा दर्ता भइसकेको बताउँदै जिल्ला प्रशासन कार्यालय सप्तरीबाट माग गरिएको जति सबै कागजात नआएकाले बयानमा केही ढिलाइ भएको बताए । ‘सिंहको कीर्ते नागरिकतासम्बन्धी मुद्दा दर्ता भइसकेको छ, उनको मुद्दा दर्ता नम्बर २४४ हो’ सइ यादवले भने, ‘मुद्दा दर्ता भइसकेपछि फछ्र्यौट हुन्छ, यसमा कुनै दबावले काम गर्दैन, यसबारे ढुक्क बसे हुन्छ । हामीले माग गरेको कागजात जिल्ला प्रशासन कार्यालयबाट आएपछि बयानका लागि अभियुक्तलाई बोलाउँछौं ।’