विराटनगर । विराटनगर–११ पिचरा चौकमा इलेक्ट्रिक पसल सञ्चालन गर्दै आएका पुष्प न्यौपानेको १० भदौमा साँझतिर मोटरसाइकल हरायो । उनले पसलनजिक रहेको घरअगाडि को. १० प ९२१७ नं. को हिरोहोण्डा कम्पनीको सुपर स्प्लेण्डर पार्किङ गरेर राखेका थिए ।
‘पसलमा काम भएकोले घरअगाडि रहेको सडकछेउमा पार्किङ गरेर पसलमा व्यस्त थिए । पसलमा काम सकेपछि घर जान लाग्दा पार्किङ गरिएको मोटरसाइकल छैन’–उनले भने । बिहीबार साढे ६ देखि ८ बजेको बीचमा मोटरसाइकल चोरी भएको हुनसक्ने उनको अनुमान छ । ‘मोटरसाइकल चोरी भएको भोलिपल्ट शुक्रबार तुरुन्तै वडा प्रहरी कार्यालय हुँदै मोरङ प्रहरीमा पुगेर निवेदन दिएको छु’ उनले भने, ‘अहिलेसम्म चोरी भएको मोटरसाइकल भेटिएको छैन ।’
घरअगाडि रहेको सीसी क्यामेराको फुटेजमा पनि साढे ६ देखि ८ बजेको बीचमा मोटरसाइकल घरदेखि पश्चिमतर्फ लगेको देखिन्छ । तर, धेरै अँध्यारो भएकाले मान्छे स्पष्ट देखिँदैन । त्यहाँ देखिएअनुसार मोटरसाइकल पश्चिम सुनसरीतिर लगेको देखिन्छ ।
न्यौपानेको मोटरसाइकल चोरी भएकै दिन विराटनगर–११ र १२ वडा भित्रबाट मात्र ६ वटा मोटरसाइकल चोरी भएको थियो । उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । पछिल्लो समय प्रदेश १ को राजधानी विराटनगरमा मोटरसाइकल चोरीको घटना बढिरहेका छन् । प्रहरीसमक्ष थुप्रै उजुरी आउने गरेका छन् । अहिले दैनिकजसो मोटरसाइकल चोरीको घटना आउने प्रहरी समक्ष आउने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
आर्थिक वर्ष २०७७÷०७८ मा मोरङमा १ सय ४० वटा मोटरसाइकल चोरीको उजुरी परेको थियो । उजुरीको आधारमा प्रहरीले ५८ जना चोरीमा संलग्न प्रतिवादीलाई पक्राउ गरी २७ वटा मुद्दा मोरङ अदालतमा दर्ता गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यस्तै चालु आर्थिक वर्षको साउनसम्ममा २३ वटा मोटरसाइकल चोरी भएको उजुरी मोरङ प्रहरीमा दर्ता भएका छन् । त्यसमध्ये ३ जनालाई पक्राउ गरी प्रहरीले तीनवटा चोरीमा मुद्दा दर्ता गरेको छ । प्रहरीमा उजुरी आउनेमध्ये सबैभन्दा बढी विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको आउने गरेको मोरङ प्रहरीले जनाएको छ ।
चोरी बढेपछि प्रहरीको ‘एम्बुस’ अभियान
विराटनगरमा चोरीको घटना बढेपछि चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न मोरङ प्रहरीले ‘एम्बुस’ अभियान सुरु गरेको छ । चोरी हुने सम्भावित ठाउँमा एम्बुस थापेर मोटरसाइकल चोरीमा संलग्नलाई पक्राउ गर्न यो अभियान सुरु गरेको मोरङ प्रहरीका डिएसपी दीपक श्रेष्ठले बताए ।
एम्बुस अभियानको प्रारम्भिक चरणमा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । विराटनगर–११ र १२ बाट एकै दिन ६ वटा मोटरसाइकल चोरी भएपछि प्रहरीले शुक्रबार एम्बुस थापेको हो ।
बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार विराटनगर–११ सुम्निमा बोर्डिङ स्कुलअगाडि एम्बुस थापेर मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका नाबालक १५ र १६ वर्ष उमेर समूहका रहेको प्रवक्ता डिएसपी श्रेष्ठले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट मोटरसाइकल चोरी हुँदा प्रयोग गर्ने ‘मास्टर’ चाबी पनि बरामद गरेको छ ।
‘चोरीमा संलग्नले मास्टर चाबी प्रयोग गरेको भेटिएको छ’ उनले भने, ‘पक्राउ परेका नाबालक भए पनि उनीहरू पेसेवर रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुल्न आएको छ ।’ नाबालकलाई प्रयोग गरी विराटनगर क्षेत्रमा चोरीमा संलग्न गिरोहको सञ्जाल ठूलो हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको उनले बताए ।
घरअगाडि, सार्वजनिकस्थलमा राखिएको अवस्थामा पनि बाइक हराउने गरेको छ । ‘कतिपय केसमा त मोटरसाइकल धनी आफैले चाबी बाइकमै छोडेर हिँडेको पनि भेटिएको छ’ डिएसपी श्रेष्ठले भने, ‘सवारीधनी स्वयम्को लापरबाहीले पनि मोटरसाइकल हराउने गरेको छ ।’
अधिकांश पीडित व्यक्तिहरूसँग कुरा गर्दा अधिकांश साँझ र राति चोरी भएका छन् । दिउँसो चोरी गर्ने मनसाय बोकेर मान्छे वस्तुस्थिति बुझ्न आउँछन् । घरको स्थिति बुझ्छन् । मोटरसाइकल कहाँ राखेको छ हेर्छन् र रातिको समयमा मौका छोपेर चोरी गर्ने गर्छन् । त्यस्तै घरमै राखेको गल्लीबाट समेत मोटरसाइकल गायब हुने गरेको छ । प्रहरीका अनुसार चोरहरूले अधिकांश स्थानमा दुईजना भएर मोटरसाइकल चोरेको पाइएको छ ।
सङ्गठित गिरोह संलग्न
मोटरसाइकल चोरीमा सङ्गठित गिरोह नै संलग्न हुने गरेको पछिल्ला घटना क्रमले देखाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । एम्बुस थापेर चोरीमा संलग्न नाबालक पक्राउ परेको घटना क्रमले मोटरसाइकल चोरीमा संलग्न ठूलो सङ्गठित गिरोह हुनसक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए । ‘चोरीमा संलग्न बालक प्रयोग गरेर मोटरसाइकल चोरीमा सङ्गठित गिरोहको समूह हुनसक्ने भएकोले त्यसतर्फ पनि अनुसन्धानको दायरा बढाएर अगाडि बढेका छौं’–एक प्रहरी अधिकृतले भने ।
चोरीको मोटरसाइकल सिधै भारत र पहाडी जिल्लामा
मोटरसाइकल चोरी कार्यमा बढी सक्रिय र पेशेवर हुने गरेको प्रहरीको भनाइ छ । विराटनगर क्षेत्रबाट चोरी भएको मोरटसाइकल चोरीमा संलग्न गिरोहले खुल्ला सीमाको फाइदा उठाउँदै भारत पु¥याउने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ । त्यही भएर पनि प्रहरीमा उजुरी परेको आधाभन्दा बढी मोटरसाइकल नभेटिने गरेको प्रहरीले जनाएको छ ।
विराटनगरबाट चोरी भएको मोटरसाइकल भारतमा पु¥याएपछि ग्यारेजमा बिक्री गर्दछन् । उनीहरूले ३० देखि ४५ हजार रुपैयाँसम्ममा चोरीको मोटरसाइकल बिक्री गर्ने गरेको समेत बताइन्छ । नेपालमा हुने मोटरसाइकल चोरीमा भारतीय व्यक्तिको समेत संलग्नता रहने गरेको पछिल्ला केही घटनाहरूले देखाउँछ । मोरङबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्लातिर पनि भेटिएको प्रहरीले जनाएको छ । तराईको जिल्लाबाट चोरी भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी पहाडी जिल्लाहरूमा कुदाउने गरेको पाइएको छ ।
यदि मोटरसाइकल चोरी भइहाले तत्काल प्रहरीलाई जानकारी दिन डिएसपी श्रेष्ठले सर्वसाधारणलाई अनुरोध गरे । ‘कतिपयलाई चोरी भएको समयसम्म पनि थाहा हुँदैन’ उनी भन्छन्, ‘जति चाँडो हामीलाई इन्फर्मेसन दिनुभयो, त्यति नै चाँडो खोज्न सकिन्छ ।’ साथै उनले मोटरसाइकल राख्दा सधैँ ह्याण्डिल लक गर्न एवम् डिस्क लकको समेत प्रयोग गर्न सुझाव दिएका छन् ।