विराटनगर । नेपाल आयल निगम विराटनगर डिपोको पार्किङमा राखिएको डिजेलसहितको ट्याङ्कर चोरी आरोपमा निगमका पूर्व चालक पक्राउ परेका छन् ।
प्रहरीले डिजेलसहितको ट्याङ्कर चोरी आरोपमा विराटनगर महानगरपालिका–४ का २६ वर्षीय श्रवणकुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका चालक निगमका पूर्व कर्मचारी र उनले केही महिनाअगि मात्र जागिर छाडेका थिए ।
आइतबार राति करिब साढे १ बजे पार्किङ लटमा राखिएको ट्याङ्कर चोरी भएको मोरङ प्रहरीले जनाएको छ । राति ट्याङ्कर लिएर भाग्दै गर्दा बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीबाट ट्याङ्करसहित यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको उनले बताए ।
आइतबार राति करिब साढे १ बजे विराटनगर–४ स्थित नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट डिजेलसहितको ना.४ ख ४६९ नम्बरको ट्याङ्कर चोरी भएको थियो ।
चालक यामकुमार खनाल सुत्न र सह–चालक शिव खनाल शौचालय गएको मौकामा यादवले चाबी खुला नै रहेको ट्याङ्कर चोरी गरेको प्रहरीले जनाएको छ ।
राति करिब १ बजे चोरी भएको ट्याङ्कर अमलेखगञ्ज डिपोबाट २० हजार लिटर डिजेल लिएर राति १२ः३० बजेतिर विराटनगर आइपुगेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा चोरीमा यादवसहित चार–पाँच जनाको संलग्नता देखिएको प्रहरीले जनाएको छ । अन्यको खोजी जारी छ ।
चोरी आरोपमा पक्राउ परेका यादवले हेडलाइटसमेत नबालिकन पार्किङ स्थलबाट निकालेको र छेउकै तिरुपति पेट्रोल पम्पनजिक पुर्याएपछि भगाउने क्रममा मात्रै ट्याङ्करको लाइट बालेको खुलेको छ ।
सीसी क्यामेरा फुटेजमा उत्तरतर्फ लैजाँदै गरेको देखेपछि प्रहरी परिचालन गरेर पक्राउ गरिएको थियो । पक्राउ परेका यादवले भने चार–पाँच जनाको मिलेमतोमा चोरी गरेको प्रहरीलाई बताएका छन् । पार्किङ स्थलबाट अरूले नै निकालेर आफूलाई विराटनगरको ढाटमा पु¥याएपछि ट्याङ्कर जिम्मा लगाएको यादवले बताएको प्रहरीले जनाएको छ ।