धरान । कोशी राजमार्गस्थित इटहरी–२० पानीपिया नजिकै फोहोर बोक्ने ट्याङ्न्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको ज्यान गएको छ । एकजना घाइते बनेका छन् ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सिनाका अनुसार सोमबार १२ः१० बजेको समयमा ट्याङ्न्करको ठक्करबाट विराटनगर महानगरपालिका–१४ का २० वर्षीय सफल राजवंशीको उपचारको क्रममा निधन भएको हो ।
धरानबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करका कारण मोटरसाइकल जल्दा नम्बर खुल्न नसकेको डिएसपी तिम्सिनाले जानकारी दिए ।
घाइते बनेका सोही ठाउँका १८ वर्षीय अविनाश राजवंशी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । मृतकको पनि प्रतिष्ठानमै उपचार भइरहेको थियो । उपचारको क्रममा एक घण्टापछि मृत्यु भएको हो ।
ट्याङ्न्करका चालक सुनसरी इटहरी उपमहानगरपालिका ४ का २८ वर्षीय थुलमान राईलाई प्रहरी पोष्ट तरहराले पक्राउ गरेको छ ।