विराटनगर। प्रदेश १ को राजधानी रहेको विराटनगरको तीन वटा ल्यावले बिरामीलाई फरक–फरक रिपोर्ट दिएको पाइएको छ ।
यहाँ रहेका दुई ठूला अस्पताल र एउटा ल्यावले बिरामीलाई फरक फरक रिपोर्ट दिएको पाइएको हो । विराटनगरस्थित कोशी अस्पताल, विराट नर्सिङ होमको ल्याव र हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्रासाउण्ड डायग्नोसिस क्लिनिकको ल्यावले बिरामीको रिपोर्ट फरक–फरक दिएको भेटिएको छ ।
विराटनगर–६ हाजीचौक घर भएका ४९ वर्षीय अफजल हुसेन (गुल्जर) ले गरेको भिडियो एक्स–रेको रिपोर्ट फरक–फरक आएको हो । चार पटक भिडियो एक्स–रे गर्दा चारै पटक तीन वटा ल्यावमा फरक–फरक रिपोर्ट आएको उनले बताए । यसरी फरक–फरक रिपोर्ट आउँदा बिरामीलाई थप बिरामी बनाएको उनले बताए । ‘ल्यावैपिच्छे रिपोर्ट फरक–फरक आउँदा बिरामीलाई पीडा मात्र होइन, मानसिक समस्या हुँदो रहेछ’–उनले भने ।
२१ साउनमा ढाड अत्यधिक दुखाइ भएपछि भोलिपल्ट २२ साउनमा हुसेन विराटनगरस्थित कोशी अस्पताल गएका थिए । ‘हस्पिटल गएको दिन कोशीको ल्यावमा पर्याप्त चिकित्सक नभएको भन्दै भिडियो एक्स–रे नभएपछि २३ साउनमा विराटनगरको हस्पिटल चौकमा रहेको गुणराज कार्की स्मृति अल्ट्रासाउण्ड डायग्नोसिस क्लिनिकमा गएर भिडियो एक्स–रे गरे । एक्स–रेको १ हजार रूपैयाँ दिए । रिपोर्टमा १८.७ एमएमको पथरीया पिसाब नलीमा रहेको देखायो’ उनले भने, ‘गुणराजमा गरिएको अल्ट्रासाण्डमा चित्त नबुझेपछि कोशी अस्पतालको ल्यावमा २६ साउनमा गएँ ।’
दुई दिन कोशीमा धाएर गराएको भिडियो एक्स–रे रिपोर्टमा पथरीया नभएको रिपोर्ट आएपछि उनी आश्र्चयचकित भए । ‘तीन दिनअगाडि गुणराज कार्की स्मृति अल्ट्रासाउण्डमा गराउँदा १८.७ एमएमको पथरीया रहेको रिपोर्ट आएको छ । कोशीमा गर्दा केही नभएको रिपोर्ट पाएपछि मानसिक समस्यामा परेँ’–उनले भने । त्यसपछि उनी नोबेल अस्पताल पुगेका थिए । नोबेलका स्वास्थ्यकर्मीले विराट नर्सिङ होम जान सुझाव दिए ।
बुधबार विराटमा गएर भिडियो एक्स–रे गर्दा १७.१ एमएमको पथरीया रहेको रिपोर्ट आयो । दुईवटा ल्यावले दिएको रिपोर्ट फरक–फरक आएपछि पुनः सरकारी अस्पताल कोशीमा बिहीबार गए । कोशीमा गराएको रिपोर्टमा २०.१ एमएमको पथरीया पिसाब नलीमा रहेको ल्याव रिपोर्टमा आएको उनले बताए ।
‘यसरी ल्यावैपिच्छे फरक– फरक रिपोर्टले हैरानी मात्र पाइनँ, मानसिक समस्या झेल्नुपरेको छ’ अस्पतालका ल्यावले दिएको रिपोर्ट हेर्दै उनले भने, ‘अब कुन ल्यावले दिएको रिपोर्टलाई आधार मानेर थप उपचार गर्नु । म त हैरानीमा परेको छु ।’ यता कोशी अस्पतालका रेडियोलोजी विभागका रेडियोलोजिष्ट डा. राजा सुवालले कतिपय अल्ट्रासाउण्ड गर्दा खाना खाएर बिरामी आएमा ग्यासको कारणले पनि सही रिपोर्ट नआउने गरेको बताए ।
‘भिडियो एक्स–रे गराउनुभन्दा अगाडि पिसाब नफेरेका कारणले गर्दा पनि रिपोर्ट सही नआउन सक्छ’ उनले भने, ‘त्यही भएर अल्ट्रासाउण्ड गर्दा सबै कुरा विचार पु¥याएर गर्नुपर्दछ ।’