विराटनगर। खोप कार्यक्रममा स्थानीय युवाले अवरोध गरेपछि विराटनगर महानगरपालिका–८ नम्बर वडा कार्यालयमा दुई दिनका लागि ‘जोन्सन एण्ड जोन्सन’ खोप कार्यक्रम स्थगित भएको छ ।
वडा कार्यालयले बिहीबारसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको हो । तीन दिनसम्म लगाएर वडा कार्यालयले ‘भेरोसेल’ खोप लगाएपछि मङ्गलबारदेखि ‘जोन्सन’ खोप लगाउने कार्यक्रम सुरु गरेको थियो । अपाङ्गता भएका व्यक्तिहरूलाई खोप लगाउन सुरु भएपछि स्थानीय युवाले अवरोध गरेका थिए । विराटनगर–८ स्थित सप्तकोशी स्कुलमा मङ्गलबार बिहान १० बजेदेखि सुरु गरिएको ‘जोन्सन’ खोप आफूहरू असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीहरूले खोप हान्ने कार्यक्रम रोकेका हुन् ।
८ नम्बर वडामा ३ सयवटा खोप आएको थियो । जसमा ४५ वटा खोप हान्ने क्रममा स्थानीयले अवरोध पुर्याएकाले खोप रोक्न बाध्य बनेको खोपकेन्द्रकी स्वास्थ्यकर्मी अञ्जु श्रेष्ठले जानकारी दिइन् । ‘हामीले अपाङ्गता भएका व्यक्तिहरूलाई लगाउँदै थियौं’ त्यही क्रममा स्थानीयले अवरोध गरेँ’–उनले भनिन् । नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई जुनसुकै केन्द्रबाट हान्न मिल्ने गरी व्यवस्था मिलाउन भनेको छ । तर, अपाङ्गता व्यक्तिहरूको खोप लगाउने समयमा नै अवरोध पु¥याएको स्वास्थ्यकर्मीहरूको भनाइ छ । स्थानीयले खोप लगाउने कार्यक्रममा अवरोध पु¥याएपछि दुई दिनको लागि स्थगित गरिएको विराटनगर–८ का वडाध्यक्ष निश्चल अर्यालले जानकारी दिए ।
‘खोप कार्यक्रममा अवरोध पु¥याएपछि स्वास्थ्यकर्मीहरूले असुरक्षित भएको भन्दै बिहीबारसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको हो’ उनले भने, ‘दुई दिनपछि खोप कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’ वडाध्यक्ष अर्यालले आफूहरूले नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर कसैलाई पनि खोप नलगाएको बताए । ‘मैले स्पष्टरूपमा भनेको पनि थिएँ, हाम्रो वडाको कुनै पनि जनप्रतिनिधिको सोर्सफोर्स लगाएर आए त्यस्तो अवस्थामा खोप नहान्नू भनेर, तर स्वास्थ्यकर्मीलाई जुन काम गर्न अवरोध गरिएको छ, त्यो निन्दनीय छ ।
हाम्रा स्वास्थ्यकर्मीलाई जबसम्म काम गर्ने वातावरण हुन्न तबसम्म हामी खोप लगाउँदैनौँ’–उनले भने । स्थानीयको अवरोधपछि ३ सय ५० वटा खोप आएकोमध्ये ३ सयवटा खोप फिर्ता भएको छ । जसमध्ये ५ वटा स्थानीयको अवरोधका कारण बिग्रिएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वास्थ्यकर्मीले बताएका छन् ।
स्वास्थ्यकर्मी र वडासदस्यसहित ६ जना खोपकेन्द्रमै थुनिए
५० वर्षभन्दा तलको उमेर समूहकालाई पनि खोप लगाइदिएको भन्दै स्थानीय युवाको समूहले खोप कार्यक्रममा खटिएकी विराटनगर–८ की वडासदस्य भारती पोखरेलसहित ६ जनालाई थुनिदिएका छन् ।
स्थानीयले युवाहरूको समूहले वडासदस्य पोखरेलसहित ६ जनालाई विराटनगर– ८ को खोपकेन्द्र सप्तकोशी स्कुलको कोठामा केहीबेर थुनिदिएका हुन् । वडासदस्य पोखरेलसहित खोप कार्यक्रममा खटिएका चारजना स्वास्थ्य कर्मी र वडा कार्यालयका कर्मचारीहरू युवा भण्डारी, लुगेन्द्र राजवंशीलाई थुनिदिएपछि वडा प्रहरी कार्यालय ‘ख’ हाटखोलाका असइ साजन राईको नेतृत्वमा खटिएको प्रहरी टोली खोप केन्द्रमा पुगी ढोका खोलेर उनीहरूलाई बाहिर निकालेको थियो ।
वडासदस्यलाई खोप केन्द्रमा थुन्नुअगाडि युवाको समूहले स्वास्थ्यकर्मीहरूलाई तथानाम गालीगलौज पनि गरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यही भएर विराटनगर–८ को खोपकेन्द्रमा खटिएका चार जना स्वास्थ्यकर्मीहरूले काम गर्ने वातावरण र शान्तिसुरक्षाको ग्यारेण्टी नभएसम्म खोप नलगाउने बताउँदै आएका छन् । खोप कार्यक्रममा अवरोध पुर्याउने र वडा सदस्यलाई खोपकेन्द्रमा थुन्ने युवाहरूलाई पक्राउ गरी कारबाहीको माग राख्दै प्रहरीमा उजुरी दिने वडाध्यक्ष अर्यालले जानकारी दिए । ‘खोप कार्यक्रममा अवरोध पुर्याउनेविरूद्ध प्रहरीमा उजुरी दिएका छौं’–वडाध्यक्ष अर्यालले भने ।