धरान । अमेरिकी अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सनको खोप धरानमा आज (बुधबार)देखि लगाइने भएको छ ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार ५ हजार खोप धरानका लागि प्राप्त भएको हो । महाशाखाका प्रमुख उमेश मेहताका अनुसार एक हजार भाइल खोप धरानलाई प्राप्त भएको हो । एक भाइलमा ५ डोज खोप हुन्छ । सरकारको प्राथमिकताअनुसार ५० देखि ५४ वर्ष उमेर समूह, अपाङ्ग, अशक्त साथै विदेश जानेहरूलाई विशेष प्राथमिकतामा राखिएको छ ।
त्यस्तै छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई पनि प्रदान गरिने प्रमुख मेहताले जानकारी दिए । खोपलाई व्यवस्थित गर्नेक्रममा यसपटक तीन चरणमा खोप दिन लागिएको छ । धरानका सबै वडामा खोप केन्द्रहरू निर्धारण गरिएका छन् । केही दिनअघि धरानका नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको बैठकले अव्यवस्थित भएको भन्दै जनगुनासो बढेपछि वडागत रूपमै खोप दिन लागिएको हो ।
पहिलो चरणमा ७ वटा वडालाई लक्षित गरिएको छ । त्यस्तै दोस्रो चरणमा ६ वटा वडा र तेस्रो चरणमा ७ वटा वडालाई लक्षित गरिएको छ । जसका लागि खोप केन्द्र पनि तोकिएको छ । खोपलाई व्यवस्थित गर्नका लागि स्वास्थ्य कार्यालयका कर्मचारी पनि अभियानमा सक्रिय रूपमा खट्ने भएका छन् ।
महाशाखाका अनुसार बुधबार धरान–२, ३, ४, ६, ७, ९ र १० नम्बर वडावासीलाई खोप दिइने छ । त्यसका लागि वडागत रूपमा खोप केन्द्र तोकिएको छ । त्यस्तै बिहीबार धरान ११, १२, १४, १६, १७ र १९ नम्बरका वडावासीलाई खोप लगाइने भएको छ । त्यसका लागि पनि वडागत रूपमा खोप केन्द्र तोकिएको छ ।
त्यस्तै शुक्रबारका दिन धरान–१, ५, ८, १३, १५, १८ र २० नम्बर वडावासीलाई खोप लगाइने भएको छ । जसका लागि पनि वडागत रूपमा खोप केन्द्र तोकिएका छन् । बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाइने स्वास्थ्य महाशाखाले जनाएको छ ।