धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मौलाएका अनेक बेथितिमध्ये शैक्षिक पाटोमा झन् धेरै समस्या रहेको विद्यार्थीहरूले बताएका छन् ।

पछिल्लो डेढ महिनायता बीपी प्रतिष्ठान शुद्धीकरण अभियानले उचाइ लिए पनि त्यसको सुखद् अवतरण कस्तो हुने हो, भविष्यकै गर्भमा छ । शुद्धीकरण अभियान आन्दोलनको रूपमा परिणत भएको बेला प्रतिष्ठानको शैक्षिक पाटोमा पनि अनेक समस्या रहेको बारेमा विद्यार्थीहरूले बोल्न थालेका छन् । विदेशका मेडिकल युनिभर्सिटीहरूमा भर्ना हुनुपरेमा वा जागिरका लागि आवेदन दिनुपरेमा बीपी प्रतिष्ठानमा चिकित्साशास्त्र अध्ययन गरेको, नर्सिङ गरेको वा रेडियोलोजी, दन्तचिकित्सा जस्ता विषयमा अभ्यास गरेको भनेर अब्बल मान्ने गरिएको छ । तर, प्रतिष्ठानमा विगत डेढ दशकयता भ्रष्टाचार, कमिसनको जालोले छोपिएपछि स्वास्थ्य शैक्षिक क्षेत्र झन् लथालिङ्ग हुन पुगेको विद्यार्थीहरूले बताए ।

एमबीबीएस अन्तिम वर्षका एक विद्यार्थीले भने, ‘बीपी प्रतिष्ठानलाई बाहिरबाट देख्नेले नमुनाको रूपमा  देख्छन् । तर, यसभित्र बेथिति र बिसङ्तिको जालो केलाएर साध्य छैन । अहिलेको शुद्धीकरण अभियानलाई यहाँको भ्रष्टाचार र राजनीतिकरणको विरुद्धमा मात्र नहेरी विद्यार्थीसँग जोडिएका आम समस्याका पाटोलाई पनि केलाउने अभियानको रूपमा लिनुपर्छ ।’ प्रतिष्ठानको शैक्षिक प्रणालीदेखि विद्यार्थी बस्ने आवासका हरेक क्षेत्रमा समस्या व्याप्त रहेको पनि विद्यार्थीहरूले बताए ।

प्रतिष्ठानमै अध्ययनरत ज्योति बोगटीले भने, ‘प्रतिष्ठानमा एमबीबीएस, बीडीएस, बीएमआईटी, नर्सिङ, बीएस्सी नर्सिङ, एमडी, डीएमएमसीएच पढाइ त हुन्छ । यसका लागि हरेक वर्ष नयाँ विद्यार्थीहरू आवासीयरूपमा भर्ना हुने गरेका छन् । कलेजको समस्या त छँदैछ तर, ती विद्यार्थी बस्ने आवास, बाथरुम, शौचालय, खानेपानी, विद्युत्, इन्टरनेटको समस्या अनेक रहेको छ ।’ विद्यार्थीहरू बस्ने होस्टेलको अवस्था अति नाजुक रहेको पनि उनले बताए ।

उनका अर्का सहकर्मी साथीले आफ्नो नाम सार्वजनिक नगरिदिन अनुरोध गर्दै भने, ‘होस्टेलमा बस्ने विद्यार्थीका लागि भनेर विस्तार गरिएको धाराको पानी पिउनयोग्य छैन । कहिले लेउ नै लेउ आउँछ त कहिले सेतो पानी आउँछ । मेसको मनपरीको कुरा त झन् गरिसाध्य छैन । बाध्यतावश मेसको खाना खानै प¥यो । सधैँ बाहिर गएर पनि साध्य भएन । एसडब्ल्युएस (स्टुडेण्ट वेल्फेयर सोसाइटी) को चुनाव नभएको पनि वर्षौं भयो । सुरक्षाको ठेक्का पाएको भीआईपी कम्पनी पनि नामको मात्रै हो । होस्टेलभित्रै बेला–बेलामा चोरी हुन्छ ।’ उनका अनुसार आवास नै बस्नयोग्य नभएपछि कसरी पठन– पाठनमा ध्यान दिन सकिन्छ ? उता बन्न नपाउँदै चुहिने लेक्चरल हल र एकेडेमी हलको कथा त अर्कै छ ।

प्रतिष्ठानमा करिब १४ सय विद्यार्थीहरूले विभिन्न विषय अध्ययन गर्दै आएका छन् । तर, उनीहरूसँग जोडिएका समस्याहरूलाई पदाधिकारी, व्यवस्थापन पक्षले जहिले पनि गौण रूपमा हेर्ने गरेको आरोप लाग्दै आएको छ । शुद्धीकरण अभियानका सदस्य डा. अमृत जैसीले भने, ‘प्रतिष्ठानमा नेपाल र सार्क मुलुकका विभिन्न ठाउँबाट चिकित्साशास्त्र अध्ययन गर्न आउने विद्यार्थी छन् । जुनसुकै विद्यार्थीले आफू अब्बल हुने सपना देख्छ । त्यसका लागि पढ्ने पढाउने, सिक्ने सिकाउने शैक्षिक वातावरणमा कुनै हस्तक्षेप हुनु हुँदैन । आवश्यक पूर्वाधार हुनुपर्छ । बिरामीको उपचारमा प्रत्यक्ष संलग्न भई पठन–पाठन गर्नुपर्ने विद्या भएकाले मान्छेको जीवन बचाउने विषयसँग जोडिएको हुनाले संवेदनशील हुनु जरुरी छ । तर, यहाँ त्यस्तो भइरहेको छैन ।’

प्रतिष्ठानको आफ्नो शैक्षिक क्यालेण्डर छ । आफ्नै करिकुलम  (पाठ्यक्रम) पनि छ । तर, ती शैक्षिक क्यालेण्डर र करिकुलमलाई समयअनुसार परिवर्तन नगरिएको पनि वर्षौं भएको बोगटीले बताए । करिकुलमको पुनर्मूल्याङ्कन, नवीकरण र सोहीअनुसार चिकित्साशास्त्रको अध्ययन–अध्यापनमा अभ्यास गर्न पाउने वातावरण नहुँदा विद्यार्थीहरू चिन्तित बनेका छन् । जुनियर रेसिडेण्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीका अनुसार प्रतिष्ठानको एमआरआई मेसिन बिग्रेको वर्षौं भयो । लाइब्रेरीमा चिकित्साशास्त्र अध्ययन गर्नका लागि अद्यावधिक भएका नयाँ पुस्तक नथपिएको पनि वर्षौं भएको छ । उनले भने, ‘एमआरआई, सिटी स्क्यान, अल्ट्रासाउण्ड, एक्स–रेजस्ता मेसिन पुराना प्रविधिका त भए नै, ती पनि अपूरा र अधुरा छन् ।

लाइब्रेरीमा पुराना किताब मात्रै छन् । अनि यहाँबाट उत्पादन भएका कुनै चिकित्सक त आधुनिक अस्पतालमा उपचार सेवाका लागि जाने हो । त्यसबेला त्यो अस्पतालमा आधुनिक डिजिटल प्रविधिको मेडिकल उपकरण आइसकेको हुन्छ । पुरानो प्रविधि र पुरानो पाठ्यक्रम पढेर डाक्टर भएकाले कसरी प्रभावकारी उपचार सेवा दिन सक्छ त ?’ विद्यार्थीहरू प्रतिष्ठानका पदाधिकारी र व्यवस्थापन पक्ष तथा शिक्षकहरूको आन्तरिक  कलहको मारमा पनि पर्ने गरेका छन् । पाठ्यक्रम पुनरावलोकन नभएको र अझै नभएमा सन् २०२३ देखि बीपी प्रतिष्ठानमा चिकित्साशास्त्र पढेका विद्यार्थीले युरोप र अमेरिकामा थप उच्चशिक्षा पढ्नलाई अनुमति नपाउने अवस्था रहेको छ ।

प्रतिष्ठानभित्रको होस्टेलमा बसेका विद्यार्थीमध्ये कतिपय लागूऔषधको कुलतमा पनि फसेका छन् । कतिपय मानसिक समस्यामा परेका छन् । ती सबै समस्या उत्पन्न हुनुका पछाडि पदाधिकारी र व्यवस्थापन पक्ष जिम्मेवार रहेको उपाध्यक्ष नेपालीले  बताए । प्रतिष्ठानमा रहेका अधिकांश विभागमा माइक्रोस्कोपहरू पुराना प्रवधिमा आधारित र जीर्ण भएकाले विद्यार्थीहरूले थप समस्या खेपिरहनुपरेको छ ।

उनले भने, ‘दन्त चिकित्सा महाविद्यालय त छ तर, नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड अनुसार नै छैन । डिजिटल डेण्टल चियर कम्तिमा ४ सयवटा हुनुपर्ने हो तर, त्यसको ठाउँमा ४ वटा मात्र छन् । भएका ७५–८० वटा सबै डेण्टल चियर हाइड्रोलिक प्रविधिका मात्र छन् । ती पनि ९५ प्रतिशत कामै नलाग्ने अवस्थाका छन् । जुन चियरहरूलाई काउन्सिलले उहिल्यै फेज आउट गरिसकेको हो । यस्तो अवस्थामा कसरी चिकित्साशास्त्रको शिक्षण सिकाइ प्रभावकारी हुुन्छ ?’

उनले पछिल्लो समयमा विश्वव्यापीरूपमा अनलाइन लाइब्रेरीको अवधारणअनुसार पठन–पाठन हुने गरेको बताए । त्यसका लागि विद्यार्थीलाई संस्थागत इमेल आइडी उपलब्ध गराउन अनुरोध गर्दा पनि नदिएपछि विश्वव्यापी रूपमा निःशुल्क रूपमा अध्ययन गर्न सकिने खोज अनुसन्धानबाट बञ्चित हुनुपरेको बताए । प्रतिष्ठानमा नियमितरूपमा दीक्षान्त समारोह नहुँदा पासआउट हुनेहरूले प्रमाण–पत्र लिन नपाउँदा थप उच्च अध्ययन गर्न, जागिर खानबाट बञ्चित हुनुपरेको पनि नेपालीले बताए ।

कोभिड महामारी चलिरहेका बेला प्रतिष्ठानले लर्निङ म्यानेजमेण्ट सिस्टम नै नबनाएकाले विद्यार्थीले राम्ररी पठन–पाठन गर्न पाएका छैनन् । बढीमा ३० जना राख्न मिल्ने गरी बनाएका कक्षा कोठामा सयजना राखिने गरेको पनि विद्यार्थीहरूले बताए । कक्षा कोठाको कम्प्युटर, मिडिया साउण्ड सिस्टमले समेत राम्रो काम नगर्दा पनि पदाधिकारी र व्यवस्थापन पक्षले बेवास्ता गर्ने गरेका छन् । विद्यार्थीहरूका अनुसार कुनै पनि विषयमा आधारित प्रणालीमा छलफल गर्नुपरे बढीमा ६ जना राखिनु पर्नेमा ३० जनासम्म राखिने गरेकोले सिकाइ प्रभावकारी भएको छैन ।

उनीहरूका अनुसार मेडिसिन विभागमा रेसिडेण्टहरू कार्डियो, पल्मोनो, ग्यास्ट्रो र आइसियुमा पोष्टिङ नगर्ने भएकाले भविष्यमा उत्पादन हुने जनशक्ति दक्ष हुन गाह्रो भएको छ । इन्टर्नल मेडिसिन विभागमा त डाइलाइसिस युनिट र इसिजीबाहेक अरू कुनै उपकरण नै नभएकाले सिकाइमा असर परेको विद्यार्थीहरूले बताए ।

एनाटोमी विभागमा विद्यार्थीले सिक्न र बिरामीको रोग पहिचानमा नभै नहुने जेनेटिक ल्याव लामो समयदेखि बन्द रहे पनि सञ्चालनमा ल्याउन कुनै पहल गरिएको छैन ।