इनरुवा । सुनसरीका उद्योगीहरूले आफूहरूका लागि खोप उपलब्ध नगराएको गुनासो गरेका छन् । खोप अभावमा कामदार व्यवस्थापनमा चुनौती देखा परेको बताएका उद्योगीहरूले पर्याप्त मात्रामा खोपको व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका हुन् ।
तेस्रो लहरको जोखिम बढ्दो क्रममा रहेकाले समेत निर्वाधरूपमा उद्योग सञ्चालनको वातावरण तयार पार्न खोप उपलब्ध गराइनुपर्ने उनीहरूको माग छ । सीमित जनशक्ति भएका उद्योगहरूले भनसुनको भरमा वडामार्फत् खोप पाए पनि ठूला उद्योगहरूले भने कामदारका हकमा खोपको प्रबन्ध मिलाउन सास्ती झेल्नुपरेको गुनासो पोखेका छन् ।
सुनसरीको दुहबी–खनार लाइनमा मात्रै तीन दर्जनको सङ्ख्यामा उद्योग सञ्चालनमा छन् । अधिकांश ठूला उद्योग रहेको त्यस क्षेत्रका उद्योगीहरूले खोपको मामलामा आफूहरू उपेक्षामा परेको बताएका छन् । इटहरी–दुहबी खण्ड अन्तर्गतको खनारमा पर्ने रिलायन्स स्पिनिङ मिल्स लिमिटेड एकसाथ ५ हजार कामदारलाई रोजगारी दिने क्षमताको उद्योग हो । सोमबार समाचार सङ्कलनको लागि पुग्दा उद्योग प्रशासनले दिएको जानकारी अनुसार ४ हजार मजदुर एकसाथ कार्यरत थिए ।
मिल्सका कर्मचारी प्रशासन प्रमुख महेश पोखरेलका अनुसार उद्योगले पर्याप्त सावधानी अपनाए पनि खोप अभाव खड्किएको बताए । उनले रोजगारीका लागि आउने कामदारमा अझै कोरोनाको त्रासदी कायम रहेको बताए । जसले उद्योगको उत्पादन क्षमतामा सोचेअनुसार उपलब्धि हात लाग्न नसकेको बताए ।
पोखरेलले ठूला उद्योगको हकमा कोटा छुट्याएरै खोप उपलब्ध गराइनु पर्ने माग गरेका छन् । उनले देशकै अर्थतन्त्रमा ठूलो हिस्सा ओगट्ने उद्योग क्षेत्रलाई खोपको प्राथमिकतामा राखिनु पर्ने बताए । पोखरेलले तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै निर्वाध उद्योग सञ्चालनको वातावरण तय गर्न समेत खोपको उपलब्धता आवश्यक भएको बताए ।
यस्तै एशियन थाई फुड्स प्रालिका महाप्रबन्धक समिर साहले समेत खोप अभावको समस्या झेल्नु परेको बताए । उनले कोरानाको जोखिम दिनानु दिन बढ्दो क्रममा रहेकाले कामदारलाई सुरक्षित तवरले काम गर्ने वातावरणको लागि खोपको उपलब्धता अनिवार्य भएको बताए । साहले स्थानीय पालिका र जिल्ला प्रशासन समक्ष खोपको पहल गरिदिन ताकेता गर्दै आए पनि हात लाग्न भने नसकेको सुनाए ।
पूर्वकै ठूलो तयारी कपडा निर्यात कम्पनी मानिने पल्स फेसन सोलुसनले स्वास्थ्य सावधानीका उपाय अपनाई उद्योग सञ्चालन गरिरहे तापनि सबैका लागि खोप भने उपलब्ध गराउन नसकेको जनाएको छ । पल्स फेसन सोलुसनका एक्सपोर्ट डिभिजन म्यानेजिङ डाइरेक्टर निमेश प्रधानले केहीले आफूपायक तवरले खोप लगाए पनि अधिकांश कामदार भने अझै खोपको पहुँचबाट टाढै रहेको बताए ।
प्रधानले कोरोनाका कारण उद्योगले निकै समस्या झेल्नु परेको बताए । उनले तेस्रो लहरको जोखिमसमेत थपिएकाले सुरक्षित साथ काम गर्ने र गराउने वातावरणको लागि खोपको सहजता दिलाउन सरोकारवाला समक्ष आग्रह गरे ।
उता एशिएन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालिका महाप्रबन्धक महेशप्रसाद साहले स्वास्थ्यका सावधानी अपनाई कामदारलाई काममा लगाएको बताए । उनले सकेसम्म स्वास्थ्यका मापदण्ड पालना गरिएको बताउँदै सबैका लागि खोप उपलब्ध हुनसके प्रभावकारी हुने बताए । साहले उद्योग कोरोना महामारीका बीच समेत सङ्घर्षरत अवस्थाबाट सञ्चालनमा रहँदै आएको बताए ।
दुहबीलगायत जिल्लाका विभिन्न भेगमा रहेका सबैजसो उद्योगले खोपको अनिवार्यतामै जोड दिएका छन् । उनीहरूले स्थानीय तह र प्रशासनबाट कामदारको हकमा खोपको सहज व्यवस्था हुन नसकेको बताएका छन् । यता कोरोनाको तेस्रो चरणको जोखिम बढेसँगै कामदारमा समेत त्रास बढ्न थालेको पाइएको छ ।
उनीहरूले खोपको सहजता दिलाइनु पर्ने माग गर्न थालेका छन् । खोपका लागि उद्योग प्रशासन समक्ष माग गरिरहेको उनीहरूको भनाइ छ । कतिपय कामदारले परिचय–पत्र अभावमा खोप लगाउन नपाएको जस्ता गुनासो गरिरहेका छन् ।
कोरोनाको मारमा परी २५ देखि ३० प्रतिशत उत्पादन कटौती गर्न बाध्य उद्योगधन्दा पूर्ववत् अवस्थामा फर्कने क्रममा रहे पनि कोरोनाको तेस्रो लहरको जोखिम बढेसँगै उद्योगीमाझ पुनः व्यवसाय थलिने चिन्ता बढेको छ ।