स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले असोजभित्र एकतिहाइ अनि चैत मसान्तभित्र सबै योग्य नेपालीलाई खोप उपलब्ध गराउनेगरी जोहो भइरहेको बताएका छन् ।
नियुक्ति भएको १० दिनपश्चात् आफ्ना योजना सुनाउन आयोजित प्रेस सम्मेलनमा बोल्दै उनले त्यसका निम्ति भइरहेका सम्झौताबारे वर्णन गरेका छन् ।
नेपालमा अहिलेसम्म झन्डै ९८ लाख मात्रा खोप प्राप्त भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।
आगामी असोजसम्म थप एक करोड दुई लाख खोप आउने उनले बताए ।
‘आस्ट्राजेनेकाको १६ लाख खोप जापानबाट अनुदानमा, भेरो सेल १६ लाख खोप चीनबाट अनुदानमा, थप ६० लाख भेरो सेल खोप चीनबाट खरिद गरेर तथा भारतबाट खरिद गरिएको तर आपूर्ति नभइसकेको थप १० लाख कोभिशील्ड खोप असोजसम्म आउनेछ,’ उनले भने ।
राज्यमन्त्री श्रेष्ठका अनुसार त्यसपछि माघसम्ममा थप तीन करोड २३ लाख खोप आउनेगरी कामकारबाही भइरहेको छ ।
‘अमेरिकाको मोडेर्ना खोप ४० लाख विश्वब्याङ्कमार्फत् भुक्तानी भइसकेको छ ।
एक करोड १० लाख खोप अमेरिकाबाट लागत सहभागितामार्फत् आउनेछ तथा थप एक करोड १३ लाख कोभ्याक्समार्फत् अनुदानमा आउनेछ ।
तथा फाइजर खोप ६० लाख मात्रा १२ देखि १८ वर्ष उमेरका बालबालिकाका निम्ति खरिद हुँदैछ,’ राज्यमन्त्री श्रेष्ठले भने ।
‘यसरी कुल पाँच करोड २२ लाख मात्रा खोपको जोहो भइरहेको छ ।’
कहिले पाउँछन् ज्येष्ठ नागरिकले दोस्रो मात्रा कोभिड खोप ?
ज्येष्ठ नागरिकका निम्ति दोस्रो मात्राका लागि आवश्यक खोप दुई हप्ताभित्र आउने स्वास्थ्य राज्यमन्त्रीले बताएका छन् ।
‘जापानबाट दुई हप्ताभित्र १६ लाख आस्ट्राजेनेका खोप अनुदानमा आउँदैछ । पैँसट्ठी वर्षमाथिका १३ लाख ४८ हजार मानिसले दोस्रो डोज कुरिरहेका छन् ।
उनीहरूलाई सो खोप आएको तीन दिनभित्र लगाइनेछ,’ उनले भने ।
सोही दुई हप्ताभित्र चीनबाट पनि १६ लाख भेरो सेल आउने उनले बताए ।
नेपालको भण्डारमा कति खोप छ ?
हालसम्म ९७ लाख ८२ हजार डोज खोप नेपाल आइसकेको मन्त्रालयको भनाइ छ ।
त्यसमध्ये आइतवारसम्म ६२ लाख मात्रा खोप लगाइसकिएको जनाइएको छ ।
साथै टेकु अस्पतालमा साढे तीन लाख खोप रहेको अनि सातवटै प्रदेशका भण्डारमा १३ लाख मात्रा खोप रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।
त्यसमाथि ७७ वटै जिल्लामा थप १८ लाख मात्रा खोप मौज्दात रहेको उनले बताए ।
कोभिड खोप
अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र आएका छन्
आफ्नो व्यवसायबारे के भने राज्यमन्त्री श्रेष्ठले ?
स्वास्थ्य तथा शिक्षा लगायतका क्षेत्रमा धेरै लगानी भएका व्यवसायीका रूपमा परिचित श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरिएपछि उनको स्वार्थ बाझिने भन्दै धेरै आलोचना भएको थियो ।
सोमवार पत्रकार सम्मेलनमा उनले आइन्दा सबै व्यवसायबाट अलग्गिने घोषणा गरे ।
‘स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यावसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु ।
पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार व्यवसायमा म संलग्न नहुने यसै प्रतिबद्धतापत्रमार्फत् सार्वजनिक गर्न चाहन्छु,’ उनले लिखित प्रतिबद्धतापत्र पढ्दै बताए ।
साथै सुरक्षाकर्मीबाहेक राज्यमन्त्रीले पाउने सेवासुविधा तथा तलबभत्ता नलिने घोषणा पनि उनले गरे । बीबीसी