विराटनगर/ विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहजीकरणका लागि सहायता कक्ष स्थापना गरिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले घरेलु उद्यमीहरूको सहजीकरणको लागि घरेलु तथा साना उद्योग कार्यालय परिसर भित्र सहायता कक्ष स्थापना गरिएको हो ।
सहायता कक्ष सञ्चालनमा आएसँगै सेवाग्राहीहरुको लागि सहजता प्रदान भएको घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले जानकारी दिए ।
कार्यालय परिसर भित्र हेल्थ डेक्स स्थापना भएपछि विगत जस्तो घण्टौं लाईनमा लागेर सेवा लिनुपर्ने अवस्थाको अन्त्य भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको स्वीकृतिमा सञ्चालित उक्त सहायता कक्षले कार्यालयबाट हुने सबै प्रकारको सेवाप्रवाहमा सहजीकरण गर्दै आएको छ ।
सेवाग्राहीहरुलाई छिटोछरितो र एकद्धार प्रणालीबाट सेवा उपलब्ध गराउने पक्षमा सहायता कक्षको जोड रहँदै आएको महासंघले जनाएको छ । हाल उक्त सहायता कक्षले उद्योग दर्ता तथा नवीकरण, नाम तथा ठाउँसारी, पुँजी घटाउने तथा बढाउने, प्रमाणपत्र प्रतिलिपि र नाम संशोधन तथा परिवर्तन लगायतका कार्यमा सहजीकरण गर्दै आएको छ ।
‘बेलाबखत सरकारी कार्यालयको सेवा प्रवाहमाथि प्रश्न उठने गरेको छ । सरकारी निकायको सेवा प्रवाह झन्झटिलो हुने हामीले देख्दै र सुन्दै आएका छौं । हाम्रो महासंघले उक्त अवस्थाको अन्त्य गर्ने प्रयास गरेको हो,’ सहायता कक्षकी कर्मचारी विनिता घिमिरेले भनिन् । सेवाग्राहीहरुले पाउने सेवालाई दुरुस्त बनाउन महासंघले जनाएको छ ।
मोरङ जिल्लामा सञ्चालित लघु घरेलु तथा साना उद्यमीहरुलाई उद्योग स्थापना तथा दर्ता, नविकरण र बजार तथा प्रविधि परामर्श उपलब्ध गराउने बिषयमा पनि सहायता कक्षले उद्यमीहरुलाई सहजीकरण गर्दै आएको छ ।
सहायता कक्षमा दुईजना कर्मचारी राखेर सञ्चालनमा रहेका तथा नरहेका उद्योगहरुको अवस्था तथा तथ्याङ्क संकलन र उद्योग सञ्चालनका क्रममा आईपर्ने समस्याहरुको समाधानमा समेत सहायता कक्षको महत्वपुर्ण भुमिका रहेको महासंघले जनाएको छ ।
जिल्लामा सञ्चालित उद्योगहरुको अवस्था बिश्लेषणको आधारमा सरकारलाई आवश्यक निति निर्माणमा समेत सहयोग पु¥याउन सहायता कक्षको स्थापना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका निरौलाले बताए । उनले महासंघबाट सञ्चालित उक्त सहायता कक्षले घरेलु तथा साना उद्योग कार्यालयको सहयोगीको रुपमा २ जना कर्मचारी बराबरको कार्य सम्पादन गर्दै आएको जानकारी दिए ।