धरान/ पानवारीमा जारी चौथो भलिबल कपको उपाधी आयोजक सयपत्री बोइज युनियन क्लबले जितेको छ । शनिबार धरान–६ पानवारी स्थित सिमल चौरीमा सम्पन्न फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबले आमचोक गाँउपालिका भोजपुरलाई सोझो सेट ३–० मा पराजित गरेको हो ।
आमचोकलाई पहिलो सेटमा २५–१९, दोस्रो सेटमा २५–२३ र तेस्रो सेटमा २५–१९ ले पराजित गरेको हो । आयोजक क्लबले क्वाटर फाइनलमा सबुज गण इटहरी र सेमिफाइनलमा धरान भलिबल क्लबलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।
आमचोक गाँउपालिका भोजपुरले क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरी बल पकली र सेमिफाइनलमा एक नं. प्रदेश प्रहरी रानीलाई पराजि गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका रोशन विक घोषित भए । त्यस्तै गरी बेष्ट स्पाइकर भोजपुरकै हरि पाण्डे, बेष्ट लिफ्टर सयपत्रीका मुस्कान लिम्बू, बेष्ट डिफेन्स सयपत्रीका बसन्त राई घोषित हुँदै नगद रु ५ हजार पुरस्कार जितेका छन् भने प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सयपत्रीका सञ्जय बुढाथोकी घोषितहुँदै नगद रु १० हजार पुरस्कार जितेका छन् ।

प्रतियोगिताको उपाधी विजेता सयपत्री बोइज युनियन क्लबले नगद रु ७५ हजार र ३० तोला बढीको चाँदीको ट्रफि हात पारेको छ ।
त्यस्तै उपविजेता भएको भोजपुरले नगद रु ४१ हजार जितेको छ । प्रतियोगिताको विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट, नेकपाका नेता रमेश बस्नेत, औजार दैनिक पत्रिकाका अध्यक्ष मोतिराज सुनुवार लगायतले पुरस्कार वितरण गरेका थिए ।