धरान । पशुपति घिमिरेका दुई पुस्तक अमेरिकी सांसदले विमोचन गरेका छन् । अङ्ग्रेजी भाषाका ती पुस्तक हालै अमेरिकाको भर्जिनियामा लोकार्पण गरिएको हो । 

वान्डरिङ वड्र्स र थ्री डाइमेन्सन्स अफ बुद्धिजम नामक पुस्तक आइतबार भर्जिनियाको रिचमन्ड सहरमा आयोजित कार्यक्रममा भर्जिनियाका सिनेटर स्काइलर टी भ्यान भ्याकेन्वर्ग, लेखक घिमिरे, नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनियाका अध्यक्ष चन्द्र मल्ल, उपाध्यक्ष असीम राजभण्डारी, कोषाध्यक्ष रुकेश पोख्रेल, न्याकका सदस्य घनेन्द्र लामिछाने, समाजसेवी रोशन घिमिरे र अन्य अतिथिले संयुक्त रूपमा विमोचन गरेका हुन् । 

पुस्तकलाई एमाजन डट कमले प्रकाशन गरेको हो । वान्डरिङ् वड्र्स पुस्तकमा एसिया, युरोप र उत्तर अमेरिकाका विभिन्न दश मुलुकहरूमा लेखकले गरेका यात्राहरू समेटिएका छन् । पुस्तकका लेखक घिमिरेले भने, ‘करिब आधा संसार ओगट्ने तीन महादेशको भूगोलको यात्रा हो यो । तर, यहाँ भूगोल मात्रै भेटिने छैन, छिचोल्दै जाँदा इतिहास, परम्परा, भाषा, धर्म, संस्कृति, सभ्यता, कला र साहित्य अनेक भेटिएला ।’

वान्डरिङ वड्र्स शीर्षकमा सो किताब अनलाइन स्टोर एमाजन मार्फत संसारभर उपलब्ध रहेको जनाइएको छ । करिब एक दशक नेपालमा पत्रकारिता गरेर अमेरिका गएका घिमिरेको वान्डरिङ वड्र्स दोस्रो कृति हो । सन् २०१३ मा नेपाली भाषामा बुद्धवादका तीन आयाम शीर्षकमा उनको पहिलो पुस्तक प्रकाशित भएको थियो  । थ्री डाइमेन्सन्स अफ बुद्धिजम नेपालीमा प्रकाशित बुद्धवादका तीन आयामको अङ्ग्रेजी संस्करण भएको लेखक घिमिरेले बताए ।

थ्री डाइमेन्सन्स अफ बुद्धिजमले बौद्ध धर्म, दर्शन, इतिहास र साहित्यको बारेमा विस्तारमा चर्चा गरेको लेखकको दाबी छ । बौद्ध धर्मको समग्र अध्ययन प्रस्तुत गरेको सो पुस्तकमा यसको दर्शन, इतिहास र बौद्ध धर्मको एसियाभरिको विस्तार समेटिएको छ ।

महायान बौद्ध धर्मको बोधिसत्व आदर्श र वज्रयान बौद्ध धर्मका शिक्षाहरू सो पुस्तकमा समेटिएका छन् । बौद्ध साहित्य खण्डमा पाली त्रिपिटक र महत्त्वपूर्ण महायान सूत्रहरू लगायत बौद्ध साहित्यको समग्र सिंहावलोकन गरिएको छ । विमोचन कार्यक्रममा प्रमुख अतिथि सिनेटर भ्याकेनवर्गले यस्तो गहन विषयमा पुस्तक प्रकाशित गरेकामा लेखक घिमिरेलाई धन्यवाद दिएका थिए ।

नेपाली नयाँ बर्षको स्वागत गर्दै करिब दुईसय नेपाली भेला भएको सो कार्यक्रममा सिनेटर भ्याकेनवर्गले नेपाली कम्यूनिटी अफ रिचमन्ड, भर्जिनिया (ल्ऋच्ख्ब्) लाई संस्थाको सक्रियता र योगदानको सम्मान स्वरूप कदर पत्र प्रदान गरेका थिए ।