धरान / धरान–१ स्थित धरान मोडल कलेजमा माघ १२ गतेबाट खेल सप्ताह शुरु भएको छ । शनिबार बिहान धरान उपमहानगरकी कार्यवाहक मेयर मञ्जु भण्डारीले छात्रतर्फको ५ किमी तथा छात्रातर्फको ३ किमी म्याराथनको शुभारम्भ गरी सप्ताहको शुभारम्भ गरिन् ।
धरान खेलकुदका माध्यमबाट देश तथा विदेशमा चिनिएकाले कलेजमा अध्ययनरत विद्यार्थीले भविष्यमा पनि यो पहिचानलाई कायम गर्न प्रयत्न गर्नु पर्ने र यसका लागि उपमहानगर सहयोगी रहने कार्यावहाक मेयर भण्डारीले बताइन् ।
कलेजले म्याराथनका अतिरिक्त छात्र तथा छात्राहरूको शारीरिक बौद्धिक विकासका लागि फुटबल, भलिबल, टेबुल टेनिस, चेस, क्यारेम, चाइनिज चेकर खेलहरू आयोजना गर्दैछ । त्यस्तै उनीहरूको बौद्धिक, तार्किक र अभिव्यक्ति क्षमता वृद्धिका लागि हाजिरी जवाफ, कविता, वक्तृत्वकला लगायतका प्रतियोगिताहरू आयोजना गर्दैछ ।
यसैगरी विद्यार्थीहरूलाई समाजप्रति उत्तरदायी बनाउँदै सामाजिक दायित्व बहन गर्न सक्षम बनाउन रक्तदान तथा नगर सरसफाई कार्यक्रम पनि आयोजना गर्र्दैछ । अगामी माघ १८ गते खेलकुद सप्ताह समापन गरिने खेलकुद आयोजना मूल उपसमितिका संयोजक प्रकाश कार्कीले जानकारी दिए ।

यसैबीच शनिबार आयोजित छात्रतर्फको ५ किमी दौड २० मिनेट ९ सेकेन्डमा पूरा गरी बिबिएस प्रथमका छात्र नविन विक प्रथम भए । त्यस्तै २०ः२९ मिनेटमा दौड पूरा गरेर बिएड प्रथमकै पूजन लिम्बू द्वितीय तथा २०ः४८ मिनेटमा दौड पूरा गरी बिबिएस प्रथमकै मुकेश राई तेस्रो भए ।
त्यस्तै छात्रातर्फको ३ किमी दौड १४ मिनेट १६ सेकेन्डमा पूरा गरेर बिएड प्रथमकी छात्रा सिर्जना राई प्रथम, १४ः२९ मिनेटमा दौड पूरा गरेर बिएड तेस्रो वर्षकी छात्रा निर्जला राई दोस्रो भइन् । १५ः४७ मिनेटमा दौड पूरा गरेर बिबिएस पहिलो वर्षकी छात्रा सुशीला धमलाले तेस्रो स्थान हाँसिल गरेको प्राध्यापक डा. भवानीशङ्कर भट्टराईले जानकारी दिए । तस्बिरः प्रकाश कार्की