धरान, १२माघ ः प्रदेश नम्बर १ स्तरिय चौथो पानवारी भलिबल कप २०७५ को विजयी आयोजक सयपत्री बोइज युनियन क्लब बनेको छ ।
धरान ६ स्थित सिमलचौरको मैदानमा शनिबार भएको फाइनल खेलमा आमचोक युवा क्लब भोजपुरलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक क्लब विजयी बनेको हो । आयोजकले पहिलो सेट २५–१९, दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१९ ले आमचोकलाई हराएको थियो । उपाधि सहित आयोजकले नगद ७५ हजार नगद सहित ३० तोलाको चाँदीको ट्रफी हात पारेको छ । उपविजेता बनेको आमचोकले ४१ हजार रुपैया नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगिताको फाइनल खेलको म्यान अफ दि म्याच भोजपुरका रोशन बिक भए । यस्तै, वेष्ट स्ट्राइकर भोजपुरकै हरि पाण्डे, वेष्ट लिफ्टर आयोजकका मुस्कान लिम्बू र वेष्ट डिफेन्डर आयोजकका वसन्त राई घोषित भए । उनीहरुले जनही नगद ५ हजार प्राप्त गरे भने प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी आयोजक क्लबका सञ्जय बुढाथोकी घोषित भए उनले नगद १० हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् ।