विजयपुर । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो पछिल्लो अभिव्यक्तिका कारण धरानका नगरप्रमुख हर्कराज राई (साम्पाङ) आफै विवादमा फसेका छन् । 

उनले शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ मा विभिन्न फरक–फरक विषयमा आफ्नो धारणा सार्वजनिक गरेपछि विवादित बनेका हुन् ।

यसअघि धर्मको विषयमा आफू संवेदनशील भएकाले केही कुरा पनि नबोल्ने भन्दै मौनता साधेका थिए । पछिल्लो समय उनले विगतमा गरेका गतिविधिहरू सामाजिक सञ्जालमा छरपष्ट रूपमा आएपछि जवाफी अभिव्यक्ति दिँदा उनी विवादित बनेका हुन् ।

उनले पदीय मर्यादा भुलेर केही अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । 

उनले फेसबुक पेजमा ‘साह्रै धेरै निहुँ खोजे अर्कै कुरा आउँछ है । आदिमबासी मूलबासीहरूसँग निहुँ नखोजेको राम्रो । योभन्दा बढी बोलिनँ’ भन्दै लेखेका छन् ।

त्यस्तै नमस्कार पनि हिन्दुको सम्बोधन भएकोले अबदेखि सेवा भनुँ त ? भन्ने प्रश्न पनि गरेका छन् । उनले थप लेखेका छन्, ‘इसाईहरू बढ्नुको कारण खोज्नु भन्दै जातीय विभेद पालेर बस्ने धर्म र वर्ण व्यवस्था भएको धर्ममा छ ?’

समयसापेक्ष बदलिन नसके सकिने मेलो आउँछ ।’ यस्ता अभिव्यक्तिमूलक पोष्टहरू सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमै चर्को आलोचना भएको छ ।

कतिपयले भने उनको अभिव्यक्तिलाई सही पनि भनेका छन् । उनी विवादित बन्नुको मुख्य कारण भने धरान उपमहानगरपालिका–१४ नम्बर वडास्थित सिंहदेवी मन्दिरभन्दा केही माथि निर्माणाधीन चर्चलाई लिएर भएको हो । 

बालगोपाल मन्दिरअगाडि नै चर्च निर्माण भएपछि हिन्दु अभियन्ताहरूले त्यसको विरोध गर्दै नगरप्रमुख राईलाई ध्यानाकर्षण गराएका थिए ।

चर्च निर्माण गर्ने पक्षले पनि नगरप्रमुखलाई ज्ञापन–पत्र बुझाएको थियो । त्यसपछि आफ्नै कार्यकक्षमा दुवै समूहलाई राखी छलफल गराउँदा निष्कर्षविहीन बनेको थियो ।

उक्त कार्यक्रममा नगरप्रमुख राईले आफू धर्मका विषयमा केही नबोल्ने बताएका थिए । उनले दुवै पक्षलाई मिल्नका लागि आग्रह गरेका थिए । मिल्न नसके अदालतको बाटो खुल्ला रहेको बताएका थिए ।

त्यसक्रममा हिन्दु पक्षले सामाजिक सद्भाव बिथोल्ने प्रयास गरेकाले चर्च हटाउनु पर्ने माग राख्दै आएको छ भने अर्को पक्षले सामाजिक सद्भाव कायम हुने बताउँदै आइरहेको छ । 

यसअघि पनि नगरप्रमुख राईले तिहारमा लक्ष्मीपूजा गर्नुको सट्टा श्रमदान गर्न आग्रह गरेका थिए । त्यस्तै क्रिसमसका दिन कार्यकक्षमै केक काटेर मनाएको विषय पनि आलोचित भएको थियो ।

उक्त केट काटेको विषयको छोटो क्लिप सामाजिक सञ्जालमै बाहिरिएको थियो । त्यसक्रममा पनि उनी आलोचित भएका थिए ।