पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा किसानलाई वितरण गर्ने बेसार बोरामै उम्रिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७९/०८० को ३ लाख ४० हजार ४० रुपैयाँमा खरिद गरेको १ सय २० मन बेसार मध्ये ३५ बोरा बेसारको बिउ बोरामै उम्रिएको हो । पालिकाले खरिद गरेको बेसार कुम्मायक—३ को हात्तिपोखरी स्थित स्थानीयको बारीमा अलपत्र अवस्थामा राखिएको छ भने कुम्मायक–५ को निगाले सहकारी संस्थाको भवनमा लामो समयदेखि बोरा प्याक गरेर राखिएको छ
गाउँपालिकाले किसानलाई वितरण गर्नु पर्ने बेसार अलपत्र अवस्थामा फाल्नु गलत भएको कुम्मायक–३ का कृषक अमर थापाले बताए । उनले भने बारीमा जथाभाबी बेसारको बोरा राख्नु भनेको जनताले तिरेको करको चरम दुरुपयोग गर्नु हो । थापाले भने कृषिमा गरेको यस्तो व्यवहारले राज्यको साधन र श्रोत दोहन गर्नु जस्तै हो ।”
बेसार खेती लगाउने सिजन चैत्र र वैशाख महिना हो । सिजनमा बेसार खेती लगाउन नसक्दा गाउँपालिकाले खरिद गरेको लाखौँ मूल्यको बेसार खेर जान लागेको छ । यता गाउँपालिका भने किसानको कमीकमजोरी देखाउँदै पन्छिन् खोजेको छ । किसानले माग गरेको आधारमा बेसार खरिद गरेको गाउँपालिका उपाध्यक्ष महेन्द्र बहादुर खड्का बताउँछन् । गाउँपालिकाले खरिद गरेको बेसारको बिउ किसानले नलगेपछि यस्तो भएको हो । यसमा पालिकाको कुनै कमजोरी छैन खड्काले भने तर वितरण हुन नसकेको बेसारको बिउको व्यवस्थापन अझै पनि गर्न सकिने दाबी गरे ।
कुम्मायक गाउँपालिकाले मसला बाली पकेट कार्यक्रम अन्तर्गत बेसार उत्पादन गर्न लागेको थियो । कृषि शाखा मार्फत बेसारको बिउ वितरण गर्न सूचना जारी भएको थियो । सूचना भए बमोजिम किसानले बेसारको बिउ निःशुल्क पाउने आशामा माग गरेका थिए । तर शुल्क लाग्छ भनेपछि बेसार लिन नमानेको कृषि शाखा प्रमुख सविन खतिवडाले दुखेसो पोखे । “हामीले सूचना सही गरेका थियौ । तर किसानले त्यो सूचना गलत तरिकाले बुझेपछि बेसार आए पनि अधिकांश किसानले लिन मानेनन् खतिवडाले भने ।
गाउँपालिकाले बेसारको बिउ केही किसानलाई वितरण गरेको छ भने केही मात्रामा स्थानीयको बारीमा रोपेको छ । तर बाँकी रहेको ३५ बोराको बेसारको बिउको व्यवस्थापन गर्न नसक्दा लाखौँ रुपैयाँको बेसार खेर जाने अवस्थामा पुगेको छ ।