विजयपुर । धरान उपमहानगरपालिकाले फेरि पनि त्रुटिपूर्ण कार्यविधिमा टेकेर नगर प्रहरी भर्नाको विज्ञापन खुलाएको छ । 

त्रुटिपूर्ण कार्यविधि सच्याउनु पर्ने भए पनि सोही कार्यविधिअनुसार विज्ञापन खुलाइएको हो । धरान उपमहानगरले फेरि पनि नगर प्रहरी जवान पदका लागि विज्ञापन गरेको छ । नगरको करारमा नगर प्रहरी व्यवस्थापन गर्न बनेको कार्यविधिमा नगर प्रहरी जवान र सहायक निरीक्षक (असइ) पदका लागि शैक्षिक योग्यता एउटै तोकिएको छ ।

त्रुटिपूर्ण कार्यविधिमै टेकेर नगर प्रहरीको छनोट सुरु (blastkhabar.com)

प्रहरी जवान र असइका लागि प्रवीणता प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण हुनुपर्ने कार्यविधिमा उल्लेख छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा समेत नभएको यस्तो प्रावधान कार्यविधिमा राखिँदा नगर प्रहरी जवान पदमा आवेदन फाराम भर्नबाट धेरै युवाहरू बञ्चित भएका छन् ।

यसले नगरको आयस्रोतमा पनि असर परेको छ । नेपालका सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको पनि जवान पदका लागि कक्षा ८ मात्र उत्तीर्ण हुनुपर्ने व्यवस्था रहेको जानकार सुरक्षा अधिकारीहरू बताउँछन् । तर, धरान नगरले नगर प्रहरी जवान दोस्रो तहका लागि प्रवीणता प्रमाण–पत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने प्रावधान राखेर विज्ञापन गरेको छ ।

नगरको नवनिर्वाचित जनप्रतिनिधिले कार्यविधि सच्याउनु पर्नेमा त्यही कार्यविधिमा टेकेर भर्ना खुलाउँदै आएको छ । नगरले पुनः २०८० असार २९ गते नगर प्रहरी जवान पदका लागि प्रकाशन गरेको विज्ञापनमा ‘नगर प्रहरी जवान पदका लागि शैक्षिक योग्यता मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाण–पत्र वा सो सरह उत्तीर्ण’ को प्रावधान राखेको छ ।

धरान उपमहानगरको २०७५ वैशाख १२ गते नगरकार्यपालिकाबाट स्वीकृत ‘करारमा नगर प्रहरी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा नगर प्रहरी सहायक निरीक्षक (असइ) र नगर प्रहरी जवान पदका लागि एकै शैक्षिक योग्यता प्रवीणता प्रमाण–पत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने प्रावधान राखेको हो ।

कार्यविधिको दफा ३ मा लागू हुने क्षेत्र, सेवा र योग्यतासम्बन्धी व्यवस्था रहेको छ । उपदफा २ को (ख) मा नगरप्रहरी सहायक निरीक्षक (असइ)को लागि आवश्यक मापदण्डको व्यवस्था छ । (ख) को बुँदा नम्बर २ मा शैक्षिक योग्यतासम्बन्धी प्रावधान राखिएको छ ।

उक्त बुँदामा ‘मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण गरेको’ हुनुपर्ने व्यवस्था रहेको छ । उपदफा २ को (ग) मा नगर प्रहरी जवानका लागि आवश्यक मापदण्डको व्यवस्था रहेको छ । (ग) को बुँदा नम्बर ३ मा शैक्षिक योग्यता तोकिएको छ ।

कार्यविधिको बुँदा नम्बर २ मा ‘मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्रवीणता प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण गरेको’ हुनुपर्ने व्यवस्था राखिएको छ । उक्त प्रावधानलाई टेकेर नगरले २०८० असार २९ गते सहायक दोस्रो तहमा ५ जना नगर प्रहरी जवानको विज्ञापन गरेको छ ।

यस विषयमा नगरका सामान्य प्रशासन महाशाखा प्रमुख वरिष्ठ प्रशासकीय अधिकृत शम्भुप्रसाद पाण्डेले कार्यपालिकाले बनाएको कार्यविधि अनुसार विज्ञापन गरिएको बताए । उनले भने, ‘कार्यविधिमा जे छ । त्यही अनुसार गरियो । कार्यविधि सच्याउन थाल्ने कि विज्ञापन गर्ने भन्ने भयो र त्यहीअनुसार विज्ञापन गर्यौँ ।’

उनले कार्यपालिकाले यस्ता विषय सच्याउनु पर्ने बताए । अधिवक्ता जयराम सुन्दासले नगरले कार्यविधि बनाउँदा मापदण्ड तोक्न सक्ने बताउँदै भने, ‘वरिष्ठ र कनिष्ठ पदका शैक्षिक मापदण्ड एउटै हुनु हुँदैन ।’ उनले जिम्मेवारी, काम फरक भएकाले शैक्षिक योग्यता फरक हुनुपर्ने बताए । शैक्षिक मापदण्ड एउटै भएको कार्यविधि त्रुटिपूर्ण भएकाले कानूनी उपचारमा जान सकिने बताए ।

यसअघि २०७५ सालमा भने कार्यविधिमा प्रवीणता प्रमाण–पत्र तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान भए पनि कक्षा ८ उत्तीर्णलाई प्रतिस्पर्धा गराइएको थियो । त्यसबेला मञ्जु भण्डारी सुवेदी कार्यवाहक प्रमुख रहेकी थिइन् । कार्यविधि र नगर प्रहरी भर्नाका विषयमा यसअघि तत्कालीन कार्यवाहक प्रमुख रहेकी भण्डारीसँग टेलिफोनमा कुरा गर्दा अनभिज्ञता प्रकट गरेकी थिइन् ।