प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरेर असंवेदनशील अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीको सामाजिक सञ्जालमा तीव्र आलोचना भएको छ ।

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधनमा श्रद्धाञ्जली दिन पुगेकी उनले दिएको अभिव्यक्ति असंवेदनशील भएको आरोप लागेको हो ।  तोसिमाको अभिव्यक्तिसम्बन्धी सार्वजनिक भिडियो क्लिप्समा उनले ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नु भएन अथवा हेरचाह गर्न सक्नु भएन भने राष्ट्रका लागि के गर्नु होला त ?’ भन्नेलगायतका अभिव्यक्तिहरु दिएकी छन् ।

पुराना दलको विकल्प भनिएका नेताहरूको अभिव्यक्ति असंवेदनशील हुनु दुःखद भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको भनाइ छ ।

आलोचना भएपछि माफी
यसैबीच तोसिमाले आफूले बोलेको बाइट तोडमोड भएको बताएकी छन् । उनले पूरा भिडियो सुन्न आग्रह गर्दै तोडमोड गरी राखिएको अभिव्यक्तिले  मनोभावनामा चोट पुग्न गएकामा क्षमायाचना गरेकी छन् ।