देउराली । धरानको भानुचोकमा (लागूपदार्थ सेवन) लापसे चेकिङ सुरु भएको छ । सवारी चालकहरूले लापसे गरेका छन् वा छैनन भन्ने पत्ता लगाउने किटको प्रयोग गरी आइतबार ट्राफिक प्रहरी कार्यालय सुनसरीले धरानको भानुचोकमा चेकिङ गरेको हो ।
(ट्राफिक सप्ताह २०८०) कार्यक्रमअन्तर्गत ट्राफिक सचेतनाको सप्ताहव्यापी कार्यक्रम गर्दै आएको कार्यालयले आइतबार, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, कार्यपालिका सदस्य अनुप देवानलगायत यातायात व्यवसायीको उपस्थितिमा पाँच जना सवारी चालकमा लापसे परीक्षण गरेको थियो ।
लामो दुरीका सवारी चालक, ट्याम्पू तथा सफारी चालकमा गरिएको चेकिङको परिणाम अधिकांशमा लागूऔषध जन्य पदार्थको सेवन गरेको देखिएको कार्यालयका प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले बताएका छन् ।
परीक्षणमा तीन जनाले लागूऔषधको सेवन गरेको किटमार्फत् खुलेको इन्स्पेक्टर बस्नेतले बताए । उनका अनुसार परीक्षणमा केहीले गाँजा सेवन गरेको देखिएको छ भने केहीले अफिम वा केमिकल जन्य लागूऔषधको प्रयोग गरेको खुलेको छ ।
किटमा युरिन हालेपछि दुई लाइन आएका नेगेटिभ (लागूपदार्थ प्रयोग नगरेको) र एक लाइन मात्र आएमा पोजेटिभ (लागूपदार्थ प्रयोग गरेको) भनेर थाहा हुने इन्स्पेक्टर बस्नेतले बताए । उक्त किटमार्फत एक व्यक्तिले अफिम, गाँजा, कोरेक्स, औषधि तथा केमिकल जन्य लागूऔषधसहित छ प्रकारका वस्तु सेवन गरेको वा नगरेको भन्ने जानकारी लिन सकिने बस्नेतले बताए ।
पहिलो दिन भएको परीक्षणमा लागूऔषध सेवन गरेको खुलेका चालकहरूलाई आवश्यक काउन्सिलिङ तथा कारबाही गरिने बताउँदै बस्नेतले भने ‘ लागूऔषध सम्बन्धी ऐन २०३३ ले नै यसको प्रयोग तथा कारोबार बन्देज गरेकोले यसको प्रयोग, कारोबार र ओसारपसार गैर कानुनी भएकाले लापासे परीक्षणमा प्रयोग गरेको देखिए ऐनले तोको बमोजिमको कारबाही हुन्छ ।’
यात्राका क्रममा चालकले लागु औषध सेवन गरी सवारी चलाउँदा दुर्घटनामा परी चालक र यात्रुको धनजनको क्षति हुने हुँदा त्यसलाई निरुत्साहित लापासे चेकिङ सुरु गरिए इन्स्पेक्टर बस्नेतले बताए । उनले भने ‘ अब यो आवश्यकता अनुसार साप्ताहिक वा दैनिक चेकजाँच हुने छ ।’
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग तथा समन्वयनमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीको आयोजना भइरहेको ट्राफिक सप्ताह कार्यक्रमको छैटौँ दिन आज धरान बसपार्क, तीनकुने र भन्टाबारी गरी सुनसरीको तीन स्थानमा लापासे चेकिङ गरिएको इन्स्पेक्टर बस्नेतले बताए ।
साथै, रेड ब्लु वा इनर्जी ड्रिकं सेवन गरेकाहरूमा ब्रेथलाइजरले अल्कोहल देखाउने गरेको भन्दै भ्रम फैलिएको भन्दै, भ्रम चिर्न प्रत्यक्ष प्रयोग गरेको थियो । कार्यक्रममा पत्रकार खिलानाथ बिकलाई इनर्जी ड्रिकं सेवन गराई अल्कोहल परीक्षण गर्दा अल्कोहलको मात्र देखाएको थिएन ।
कार्यक्रममा ट्राफिक प्रहरीले ब्रेथलाइजरको प्रयोग गरी मादक पदार्थ मात्र चेक गरिरहेका अवस्थामा लागु औषधको प्रयोग गरी सवारी चलाउँदा दुर्घटना भएका घटनाहरु आइरहँदा लाग औषधको पनि परीक्षण गर्न थालिएपछि सवारी चालक अझ बढी सचेत हुने र दुर्घटना न्यूनीकरण हुने उपप्रमुख आइन्द्र विक्रम बेघाले बताए ।
* लापासे चेकिङ, ५ जना परिक्षण गर्दा ३ जनाले लागूपदार्थ सेवन गरेकाे देखियाे हुनु पर्नेमा अन्यथा भएकाे मा सच्याइएकाे छ ।