इटहरीको मुख्य चोकमा मंगलबार दिउँसो टिपरले स्कुटीलाई ठक्कर दिँदा भएको दुर्घटनामा घाइते भएकी अंशु चौधरीको मृत्यु भएको छ । 

इटहरीको चोकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा सरिता चौधरीको घटना स्थलमै मृत्यु भएको थियो भने छोरी अंशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी–८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरी छन् ।

इटहरी ८ फुलबारी टोल बस्ने २२ वर्षीया अंशुको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको थियो । 

को १४ प ५२६ नम्बरको स्कुटरमा चढेर आफन्तकोमा हिडेका आमाछोरीलाई ठक्कर दिएपछि इटहरी चोक दिनभर तनावग्रस्त रह्यो । भीडले कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपर तोडफोड गर्नुका साथै प्रहरीमाथिसमेत ढुंगा मुढा प्रहार भएको थियो ।  झडपमा ९ जना प्रहरी घाइते भएका थिए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो ।

उत्तरबाट दक्षिण जाने क्रममा ट्राफिक लाइटको हरियो बत्ति बलेपछि स्कुटरलाई पछाडीबाट ठक्कर दिएको थियो । घटनाको विषयमा प्रहरीले ड्राइभरलाई नियन्त्रणमा लिएर अनुृसन्धान गरिरहेको छ ।

ट्राफिक लाइट प्रयोगमा आइसकेपछिको इटहरी चोकमा भएको यो दोस्रो दुर्घटना हो । यसअघि पनि मुख्य चोकमै स्कुटरमा सवार एकजना महिलाको दुर्घटनामा ज्यान गएको थियो । 

इटहरीमा ट्राफिक लाइटको प्रयोगले ट्राफिक व्यवस्थापन सहज भएपनि प्रभावकारी प्रयोग हुन नसक्दा दुर्घटनामा कमी नआएको गुनासो सर्वसाधारणले गरेका छन् ।