असार २ गते राति आएको बाढीले हेंवा खोलाको पुल बगाएपछि अवरुद्ध मेची राजमार्ग १० दिनपछि सञ्चालनमा आएको छ । 

मेची राजमार्गअन्तर्गत फिदिम ४ र हिलिहाङ ७ लाई जोड्ने हेवा खोलाको पुलमा ह्युमपाइप राखेर हेंवा खोला डाइभर्सन गरेपछि आवागमन सुरु भएको हो । आजदेखि यातायातका साधन अस्थायी रुपमा आवतजावत गर्न थालेका छन् ।

खोलामा डाइभर्सन गर्न सडक डिभिजन इलामका प्राविधिक र कामदार तीन दिनदेखि खटेका थिए । डाइभर्सनको काम सकिएपछि आज दिउँसो २ बजेपछि सवारी चल्न थालेका हुन् ।

बाढीले पुल बगाएपछि संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तत्काल बेलीब्रिज निर्माण गर्न सडक डिभिजन इलामलाई निर्देशन दिएका थिए । 

सामग्रीसहित आएका प्राविधिकले बेलीब्रिज बनाउन थाले पनि सम्पन्न गर्न लामो समय लाग्ने भएपछि खोलामा डाइभर्सन गरेर अस्थायी विकल्प खोजिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख (इन्जिनियर) विदुर पोखरेलले जानकारी दिए ।

उनका अनुसार खोलामा १६ वटा ह्युम पाइप राखेर डाइभर्सन गरिएको छ । डाइभर्सन गरिएसँगै हेवा खोला वारिबाट ताप्लेजुङसहित पाँचथरका हिलिहाङ, याङवरक र फालेलुङ जाने सवारी चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।