वराहक्षेत्र । अवैध तरिकाले रुख कटान तथा ओसारपसारमा संलग्न बेलका नगरपालिकाको दुधकोशी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरू विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको भएको उनीहरूलाई अहिलेसम्म पक्राउ नगरिएकोमा उपभोक्ताले गुनासो गरेका छन् । 

गैर कानुनी रुख कटान र तस्करी गरेको भन्दै नगरपालिकाको वडा नम्बर ७ स्थित उक्त वनका अध्यक्ष मणिराज राई,सचिव दिनेश राई र कोषाध्यक्ष ज्योति राई विरुद्ध उजुरी गरिएको र अदालतको पक्राउ पुर्जी समेत लिइसेकेको भए पनि १५ दिन बढी बितिसक्दासमेत उदयपुर जिल्ला वन कार्यालय गाईघाटले अहिले सम्म उनीहरूलाई पक्राउ नगरिएको उजुरीकर्ता उपभोक्ता कलराज राईले बताए ।

वनका पदाधिकारीद्वारा नै रुख कटान

अध्यक्ष मणिराज राई, सचिव दिनेश राई र निवर्तमान कोषाध्यक्ष ज्योति राईले मिलेमतोमा अवैधरुपमा रुख कटान तथा संकलन गरी बिक्री गर्न लागेको भन्दै उपभोक्ताहरू किरण राई, विशाल राई,कलराज राई, मेसन राई र दिलीप राईले उनीहरू विरुद्ध ज्येष्ठ २४ गते जिल्ला वन कार्यालय गाईघाटमा उजुरी गरिएको उपभोक्ता कलराज राईले बताए । 

अध्यक्ष,सचिव र कोषाध्यक्षले मिलेमतोमा वनबाट काँचो सालको रुख कटान गरेको आरोपमा वन कार्यालयले उनीहरूलाई पक्राउ पुर्जीको माग गर्दै जिल्ला अदालत गाईघाटमा मुद्दा दायर गरेको थियो ।

अदालतबाट आरोपीहरूलाई पक्राउ गर्ने अनुमति पत्र लिई सकेको भए पनि जिल्ला वनले कुनै सक्रियता नदेखाएको वनको उपभोक्ता सदस्य कलराज राईले बताए । ‘किन सुस्ती देखाएको हो वनले,हामी फेरी वन कार्यालय जाने तयारीमा छौ,’ राईले बताए ।

उता भोजपुर जिल्लामा निर्बाध खुल्ला घुमी रहेका आरोपीहरूले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिने गरेको भन्दै उजुरी गर्ने उपभोक्ताहरूले सुरक्षाको माग समेत गरेका छन् ।

 वैशाख महिना देखि नै गैर कानुनी रुख कटान र तस्करीमा सामेल आरोपी पदाधिकारीहरूले वडा नम्बर ८ को आराङ्गामा घाटगद्दी गरेर यसै गरी सोही वन क्षेत्रमा लुकाएर राखेको साल र चिलाउने जातको करिब ११ सय घनफुट काठ बरामद गरिएको जिल्ला वन गाईघाटका अधिकृत राजकुमार श्रेष्ठले बताए ।

वन कार्यालयले तीन चरणमा गरी वन क्षेत्र वाट काठ बरामद गरेको थियो । बरामद काठमा आराङ्गा गाउँको खोल्सीमा लुकाएर राखेको ६ सय १० घनफुट चिलाउने र साल जातको ७९ थान गोलिया काठ रहेका छन् ।

भने वन क्षेत्र वाट चिरानी गरिएको सालको सय घनफुट १ सय १० थान थान र हराएको भनिएको ३ सय १५ किवी ७९ थान गोलिया काठ बरामद गरिएको वन अधिकृत श्रेष्ठले बताए ।

 उपभोक्ताले गुनासो का बारेमा वन अधिकृत श्रेष्ठले प्रहरी जस्तो संयन्त्र  वनसँग नभएको हुँदा ढिलो भएकै हो, यद्धपी जिल्ला प्रहरी कार्यालयसँग आवश्यक समन्वय गरी कर्मचारी परिचालित गरी सकिएको बताए । 

श्रेष्ठले उपभोक्ताहरुको सुरक्षाको लागि जिल्ला प्रशासन र प्रहरी लाई जानकारी समेत गराइएको बताएका छन् ।