धरान उपमहानगरपालिका र वराहक्षेत्र नगरपालिका बिच  कोकाहबाट धरान पानी ल्याउन वराहक्षेत्रको भूमि प्रयोग गर्ने सम्बन्धमा आज हुने भनेको लिखित सम्झौता हुन सकेन ।

वराहक्षेत्रले धरान उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्डको संस्थागत निर्णयको माग गरेपछि धरानले उक्त निर्णय दिन नसक्दा सहमति हुन नसकेको   वराहक्षेत्र ७ का वडाध्यक्ष कपिल आचार्यले बताए । 

उनका अनुसार वराहक्षेत्रले धरान उपमहानगरको आधिकारिक निर्णय मागेपछि धरानका नगर प्रमुख हर्कराज राईले खानेपानीको सम्बन्धी निर्णय गर्ने अधिकार कार्यपालिकाले आफूलाई दिएको जिकिर गरेका थिए ।

तर, वराहक्षेत्रले धरानको कार्यपालिकाले नगरप्रमुख राईलाई धरान भित्रको खानेपानीको व्यवस्थापन गर्ने अधिकार दिएको हुनसक्ने भन्दै, अन्तरपालिका बिच सम्झौता गर्न कार्यपालिकाको निर्णय आवश्यक हुने आचार्यले बताए ।

उनले भने "हामी धरानलाई खानेपानी लान हाम्रो भूमि प्रयोग गर्न दिनेमा सकारात्मक छौँ । तर, दुई पालिका बिच हुने नीतिगत कार्य गर्न जरुरी हुन्छ । यस अघि वहाँहरू आएर विना जानकारी काम गरिरहनु भएको थियो । तर, हाम्रो भूमिलाई वहाँहरूले हाम्रो भनेर जुन अभिव्यक्ति दिनुभयो । यसले हामीलाई दुई पालिका बिच सम्झौता  गर्नु पर्ने महत्त्व बुझायो ।"

उनले मुख्य ६ बुँदाको सम्झौता पत्र तयार गरेकोमा  अधिकांश बुँदामा नगरप्रमुख राई सकारात्मक भए पनि उपमहानगरको निर्णय दिन असमर्थ भएको बताए । 

बैठकमा धरानका नगरप्रमुख राईले कार्यपालिका बैठक बस्न नसकिरहेको अवस्थामा निर्णय गर्न नसकिने बताएपछि जिल्ला समन्वयन समिति सुनसरी धरानको कार्यपालिका बैठक बस्न कालागि समन्वयन गर्ने बताइएको छ । दुई पालिका बिच सहमतिका लागि पुनः छलफल गर्ने बताएका छन् ।

 जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा धरानको तर्फबाट नगरप्रमुख राई, उपप्रमुख आइन्द्र विक्रम बेघा थिए भने वराहक्षेत्रबाट नगरप्रमुख रमेश कार्की सहित उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला सहित वार्ता टोलीका संयोजक एवम् वडा नम्बर १ का अध्यक्ष किशन मगर, वडा नम्बर २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नम्बर ७ का अध्यक्ष कपिल आचार्य लगाएको उपस्थिति रहेको थियो।

गत शनिवार भएको छलफल बमोजिम वराहक्षेत्र नगरपालिकाले सम्झौताका लागि वार्ता समिति गठन गरेर सहमतिको खाका समेत तयार गरेको थियो ।तर धरान उपमहानगरपालिकाले कार्यपालिकाको निर्णय र वार्ता समिति समेत गठन गर्न नसकेपछि सम्झौता हुन नसकेको वराहक्षेत्रका मेयर कार्कीले बताए ।