धरान उपमहानगरपालिका र वराह नगरपालिका बिच लिखित सहमतिपछि मात्र कोकाह खोलाको पानी धरान ल्याउन वराहक्षेत्रले आफ्नो भूभाग प्रयोग गर्न दिने भएको छ ।
आज वराह नगरपालिकामा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको रोहवरमा धरानका नगरप्रमुख राई, उपप्रमुख आइन्द्र विक्रम बेघा, वराहका नगरप्रमुख रमेश कार्की तथा वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूसहित जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ ओम भट्टराईको उपस्थितिमा छलफल भएको थियो ।
छलफलमा २ दिन भित्र लिखित सहमति गर्ने गरी दुवै पालिकाले दुई सदस्यीय कार्यदल बनाएर सम्झौता गर्ने वराहका नगर प्रमुख कार्कीले बताए उनले भने '"हामीले त्यहाँ भएका क्षतिको माग दाबी गरेका छैनौ, त्यहाँबाट लगेका पानी पनि दिनुहोस् भनेका छैनौ । "
उनले आफ्ना जनतालाई पानी खुवाउन वराह नगरपालिका सक्षम रहेको भन्दै धरान पानी लाने क्रममा वराहको भूमि प्रयोग गरी गरिने कार्य कारण हुने वातावरणीय प्रभावको धरान उपमहानगरपालिका जिम्मेवार हुनु पर्ने बताए ।
लिखित समझैतामा वराहले ४ वटा मुख्य माग राखेको छ जसमा धरान उपमहानगरको कार्यपालिकाबाट खानेपानी व्यवस्थापनका लागि गरिएको संस्थागत निर्णय, धरान खानेपानी बोर्डको संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने वराहक्षेत्रलाई निश्चित कर दिनु पर्ने ग्यारेन्टीसहितको लिखित सहमति गरिनु पर्ने रहेको छ ।
छलफलपछि पत्रकार सम्मेलनमा बोल्दै कार्कीले भने " सिमानाको विषयमा छलफलमा बसै कहा कसको पर्छ नक्सा हेरै । तर, मिडियामा आएर वराहक्षेत्र नगरपालिकालाई गाली गर्न लाग्नुभयो भने वराहक्षेत्रले त्यसको जवाफ दिन जानेको छ । "
अमाह सिमसारको बारेमा उठेका प्रश्नहरूमा नगरप्रमुख साम्पाङले 'अमाह धरानमा पर्छ' भन्ने धारणामा उपमहानगरपालिको आधिकारिकता नभएको बताए भने, उपप्रमुख वेघाले वराहले भोग चलन गरिरहेको बताएका थिए ।
पत्रकार सम्मेलनपछि छलफल सकरात्मक भएको बताएका धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा उप प्रमुखले पत्रकारहरूले गरेका प्रश्नहरूको भने उत्तर दिन चाहेनन् ।