विराटनगर । वडा कार्यालय निर्माण सम्पन्न भएको एक वर्ष बितिसक्दा पनि वडाध्यक्षले सार्न आनाकानी गरेका छन् ।

मोरङको कटहरी गाउँपालिका–४ नम्बर वडा कार्यालयको भवन वडाध्यक्ष दिनेश्वर यादवले सार्न आनाकानी गरेका हुन् । अहिले भवन प्रयोगविहीन छ भने भाडाको जीर्ण भवनमा कार्यालय सञ्चालित छ । वडा कार्यालय बने पनि कार्यालय नसारेपछि गाउँपालिकाले कार्यालय बापतको तीन महिनाको भाडा रोक्का गरिदिएको छ ।

वडाध्यक्षले वडा कार्यालय नसारेपछि भाडा रोकिदिएको गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘गाउँपालिकाको लगानीमा वडाको भवन निर्माण पूरा भएको छ । वडाध्यक्षले सार्ने चासो नदेखाएपछि हामीले तीन महिनादेखि वडा कार्यालयले भाडा बापतको रकम रोक्का गरेको छौँ’ –अध्यक्ष चौधरीले भने ।

७४ लाख रुपैयाँको लागतमा २०७८ सालमा कटहरी–४ चमडाइ चोकदेखि करिब तीन सय मिटर उत्तरमा एकतले भवन बनाइएको छ । स्थानीय निलम निरौलाले दिएको अढाई कठ्ठा जग्गामा पाँचवटा कोठासहितको एक तले भवन निर्माण गरिएको हो । वडा कार्यालय भने हाल कटहरी–४ जुडीचोकमा छ । जसबापत १८ हजार रुपैयाँ भाडा तिर्दै आएको छ । भवन बनिसके पनि व्ययभार थपिने कार्य गरेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

कटहरी गाउँपालिकाको पुस २६ गते बसेको कार्यपालिकाको बैठकले नवनिर्मित भवनमा वडा कार्यालय सार्ने निर्णय पनि गरेको थियो । तर, बैठकले गरेको निर्णयप्रति पाँच महिना बितिसक्दा पनि वडाध्यक्ष दिनेश्वर यादवले चासो नदेखाएको स्थानीय बताउँछन् । जुडी चोकदेखि पश्चिम नयाँ बजारका स्थानीयले वडा कार्यालय नसार्न दबाव दिएको कारणले सार्न नसकेको वडाध्यक्ष यादवको दाबी छ ।

तत्कालीन कटहरी–४ का वडाध्यक्ष मन्टु शेखको कार्यकालमा उक्त भवन निर्माण सुरु भएको थियो । निवर्तमान वडाध्यक्ष शेखले सुविधा सम्पन्न वडा कार्यालय बनाउने उद्देश्य अनुरूप भवन बनाएको बताए । ‘मेरो कार्यकालमा भवन अन्तिम फिनिसिङको तयारीमा थियो । मेरो कार्यालय सकियो’ उनले भने, ‘आफू भएको भए भाडामा बसेको वडा कार्यालय आफ्नै भवनमा लैजाने थिएँ ।’