देउराली । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले कार्यपालिका बैठकमा उपस्थित नहुने वडाध्यक्षहरूलाई असक्षम घोषण गर्दै राजीनामा माग गरेका छन् ।
लामो समय देखी अवरुद्ध रहेको कार्यपालिका बैठक बस्न नसकेपछि बिहीबार नगर प्रमुख साम्पाङले पत्रकारहरू माझ एक विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरूको राजीनामा माग गरेका हुन् ।
कार्यपालिका बैठकमा बस्ने वाध्यात्मक कर्तव्य रहेको र उक्त कर्तव्य उल्लङ्घन गर्ने छुट कसैलाई नभएको भन्दै साम्पाङले विज्ञप्तिमा भनेका छन् ‘कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई सहयोग गर्न अनुरोध छ । ”
नगरप्रमुख साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बुले वडाध्यक्षहरूलाई निर्देशनात्मक पत्र काटेपछि सुरु भएको विवादका कारण गत चैत १ गते बाट स्थगित बैठक त्यस यता २ पटक बेलाइए पनि बस्न सकेको छैन ।
उक्त पत्रलाई लिएर कार्यपालिका बैठकमा धरान १० का वडाध्यक्षले आफ्नो विचार राख्ने क्रममा नगर प्रमुख साम्पाङले उनीमाथि स्पष्टीकरण सोधेपछि वडाध्यक्षहरू झन् बढी आक्रोशित बनेका छन् ।
वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू विभिन्न ५ बुँदे माग राख्दै कार्यपालिका बैठकमा उपस्थित भएका छैन । यस्तो अवस्थामा नगर प्रमुखले समन्वयनकारी भूमिका निर्वाह गरी छलफल गर्नुको साटो असक्षम करार दिएर राजीनामा माग गरेका छन् ।