धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङका स्वकीय सचिवको निर्देशनात्मक पत्राचारको विषयलाई लिएर असन्तुष्ट रहेका वडाध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू मङ्गलबारको कार्यपालिका बैठकमा अनुपस्थित रहेका छन् ।
नगरप्रमुख साम्पाङलाई असहयोग गरेको भनी केही धरानले सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् । नगरप्रमुख साम्पाङले सोमबार दिउँसो २ बजे बैठक आह्वान गरेका थिए । उक्त बैठकमा तीनजना वडाध्यक्ष मात्रै उपस्थित भएकाले गणपूरक सङ्ख्या नपुगेपछि मङ्गलबारका लागि बैठक डाकेका थिए । तर, मङ्गलबार दिउँसोको बैठकमा त झनै एकजना मात्रै वडाध्यक्ष उपस्थित भएका थिए । बैठकमा नगरप्रमुख साम्पाङ, उपप्रमुख अइन्द्रविक्रम बेघा र धरान–१४ का अध्यक्ष कृष्णप्रसाद भट्टराई मात्रै उपस्थित रहेका थिए ।
कार्यपालिकाको बैठकमा कार्यपालिका सदस्यहरू अनुपस्थित रहेपछि महŒवपूर्ण निर्णयहरू पनि हुन सकेको छैन । धरानका सञ्जीव उदासले सामाजिक सञ्जाल फेसबुकमा लेखे– ‘धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्न नसक्नुको कारण, आ–आफ्ना वडाका जनताहरूले वडाध्यक्षहरूलाई स्पष्टीकरण सोध्न पाइन्छ कि पाइँदैन ?’ त्यति मात्रै हैन, उनले धरान–९ का वडाध्यक्षलाई खुल्लापत्र नै फेसबुकमा प्रेषित गरेका छन् ।
गत फागुन २९ गते नगरप्रमुखका स्वकीय सचिव सुदर्शन लिम्बूले धरान उपमहानगरपालिकाको लेटरप्याड प्रयोग गरी २० वटै वडाध्यक्षहरूलाई आर्थिक वर्ष २०७९÷०८० मा सञ्चालित सामाजिक, आर्थिक, तथा भौतिक योजनाअन्तर्गत वडाले सम्पन्न गरेका योजना तथा कार्यक्रमको सूची बनाई पठाउन पत्राचार गरेका थिए । उक्त पत्राचार नियमतः स्वकीय सचिवले पठाउन नमिल्ने भन्दै वडाध्यक्षहरूले पाँच बुँदे माग पत्र राखी २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, नगरप्रमुखको कार्यशैलीप्रति असन्तुष्ट हुँदै आफूहरूले कार्यपालिका बैठक बहिष्कार गर्दै आएको वडाध्यक्षहरू दाबी गर्छन् । धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले भने, ‘तपाईंहरू सबैलाई थाहा छँदै छ । मेयर सा’पको क्रियाकलापहरू । हामी त दलबाट चुनाव जितेर आएका हौँ । दलीय निर्देशन मान्नै पर्ने हुन्छ । यता मेयरले मेयरकोषबाटै सञ्चालन भएको योजना अनुगमन गरिदिनुहुन्न । कामहरू पनि रोकिदिनुहुन्छ ।’ नगरप्रमुखको स्वकीय सचिवले पठाएको विषय नमिलेर पनि आफूहरूले बैठकमा उपस्थिति नजनाएको उनले बताए । नगरप्रमुख साम्पाङले बैठकमा अनुपस्थित हुने जनप्रतिनिधिले राजीनामा दिई मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।
विभिन्न अनलाइन मिडियामा नगरप्रमुख साम्पाङले कार्यपालिका सदस्यहरू अनुपस्थित भएपछि अनिश्चितकालका लागि नगर कार्यपालिकाको बैठक स्थगित गरेका छन् भनी उल्लेख गरिएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित भई कार्यपालिका सदस्यसमेत रहेका धरान–९ का वडाध्यक्ष रूपेश आचार्यलाई कार्यपालिका बैठकमा किन अनुपस्थित हुनुभएको भन्ने जिज्ञासामा भने, ‘चैत १ गतेको बैठक पनि हामीले स्थगित गरेका होइनौँ, मेयर सा’पले नै गर्नुभएको हो ।’ उनका अनुसार स्वकीय सचिवले पठाएको पत्रका विषयमा ‘स्वकीय सचिवले पत्राचार गर्नुहुँदैन भनेर कहाँ लेखेको छ’ भन्दै नगरप्रमुखले तर्क गर्दै आएकाले त्यसैमा कार्यपालिका सदस्यहरूको विमति रहेको छ । नगरप्रमुख साम्पाङको भनाइ उद्धृत गर्दै विभिन्न अनलाइनहरूमा लेखिएको छ– ‘बैठक बहिष्कार गरिरहने हो भने मैले राजीनामा माग्नुपर्छ, पदीय जिम्मेवारी पूरा नगर्ने हो भने नैतिकताको आधारमा राजीनामा दिनु पनि पर्छ ।’
यस विषयमा धरान–२० का वडाध्यक्षसमेत रहेका कार्यपालिका सदस्य पदमबहादुर लिम्बूले भने, ‘संविधानको नीति, नियम, कानूनले भेट्छ भने राजीनामा पनि दिलाउने होला । डाँडाकाँडामा बसेर यहाँको जनतालाई सेवासुविधा दिइरहेका छौँ । के आधारमा राजीनामा दिनुपर्ने हो ?’ उनले नगर कार्यपालिकाको बैठकका विषयमा चिठ्ठीपत्र र सूचना प्राप्त नभएको दाबी गरे । उनले भने, ‘चिठ्ठीपत्र, सूचनाहरू आएन । त्यही कारणले पनि अनुपस्थित भइयो । वडाको कामले पनि व्यस्त भइयो । चिठ्ठीपत्र, सूचना दिने काम मेयर, उपमेयरको पनि होला ।’ धरान उपमहानगरपालिकामा कार्यपालिका सदस्य र नगरप्रमुखबीच विवाद भएको यो तेस्रो पटक हो ।
वडाध्यक्षज्यूलाई खुल्ला पत्र
श्री वडाध्यक्षज्यू,
धरान उपमहानगरपालिका
वडा नं. ९
विषयः कार्यपालिका बैठक बारे ।
धरान वडा नं. ९ को स्थायी मतदाता तथा समग्र वडा र नगरको भलो, उन्नति र विकास चाहने एक सर्वसाधारण हुँ । नगर कार्यपालिका भनेको समग्र धरानको विकासको लागि नीतिनिर्माता, बजेट तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने एउटा महत्वपूर्ण निकाय हो । तर, विगत लामो समयदेखि यो निकायको बैठकसम्म बस्न सकेको छैन । यो बेला विभिन्न योजनाहरू ल्याएर बजेट विनियोजन गराएर वडाको बृहत्तर विकासका लागि अघि बढ्नु पर्नेमा कार्यपालिका बैठकमै उपस्थित नहुने, हुँदा पनि बहिष्कार गर्ने, यी यावत् समस्याका कारणले वडाको विकासमा प्रत्यक्ष असर परिरहेको हामी वडाबासीहरूले अनुभव गरिरहेका छौँ । अतः कार्यपालिका बैठक किन बसिरहेको छैन ? हजुरले किन बैठकमा भाग लिइरहनु भएको छैन ? यसको लिखित जवाफ वडाध्यक्षको हैसियतले वडाबासीलाई सम्बोधन हुने गरी दिनुहुन्छ भन्नेमा पूर्ण विश्वस्त छु ।’ तर, यसको जवाफ भने वडाध्यक्षले दिएका छैनन् । ब्लाष्टकर्मीसँगको फोनसम्पर्कमा वडाध्यक्ष रूपेश आचार्यले भने, ‘फेसबुकको जवाफ फेसबुकमै दिनु राम्रो हो जस्तो त मलाई लाग्दैन, फेसबुकमा चाहिँ पढेँ । वडावासीले भोट दिएरै हामीलाई पठाउनुभएको हो । जनताका लागि गर्ने भनेर नै पुगेको हो ।’