धरान । लेखक एवम् पूर्व ब्रिटिस सेना अक्कलबहादुर मेन्याङ्बोको ९१ वर्षको उमेरमा निधन भएको छ ।
भतिज दीपक मेन्याङ्बोका अनुसार बिहीबार निधन भएको हो । मेन्याङ्बो सन् १९६७ तिर लप्टन पदबाट अवकाश भएका थिए । त्यसपश्चात् उनी समाजसेवा तथा लेखन कार्यमा व्यस्त रहेका थिए । करिब तीन वर्षयतादेखि भने दीर्घरोगबाट पीडित थिए भने प्रोस्टेट क्यान्सर समेत भएको थियो तर, उक्त क्यान्सर निको भइसकेको भतिज दीपक मेन्याङ्बोले जानकारी दिए ।
त्यसयता अन्य रोगबाट ग्रसित रहेका थिए । धरान ८ धनकुटे रोडमा बस्दै आएका उनले नेपालमा आएपश्चात् पहिलो पटक पूर्वाञ्चल यातायात व्यवसायी सङ्घ स्थापना गरी यातायात क्षेत्रमा लगानी गरेका थिए । उनी त्यस सङ्घका संस्थापकसमेत हुन् । त्यसबाहेक पनि अन्य सामाजिक सङ्घसंस्थामा पनि आवद्ध रहेका थिए । २०४५ सालमा मेन्याङ्बो कल्याणकारी संस्थाका अध्यक्ष समेत भएका थिए ।
एक पत्नी, ३ छोरा र एक छोरीका पिता मेन्याङ्बोको किरात धर्म परम्पराअनुसार सोमबार सदगद् गरिने भएको छ । दुई छोरा बेलायतमा रहेकाले पनि छोराहरु आएपछि मात्रै सदगद् गरिने तयारी गरिएको भतिज दीपकले जानकारी दिए । मेन्याङ्बोले विभिन्न विषयमा लेखहरु प्रकाशित गर्दै आएका थिए । उक्त लेखको सङ्ग्रह प्रकाशनको तयारी पनि गरिएको परिवारले जनाएको छ ।